
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे-चन्दौटा सडक खण्ड निर्माणको जिम्मा लिएको ठेक्का कम्पनीले सडक निर्माणको नाममा अवैध रूपमा नदिजन्य पदार्थको तस्करी गरिरहेको खुलासा भएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले प्रयोग गरेका स्काभेटर र टिप्पर नदिजन्य पदार्थको तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्राप्त गरेको गोप्य सूचनाका आधारमा ती कम्पनीका जेसीभी र टिप्पर प्रयोग गरी बालुवा, गिट्टी, ढुंगा जस्ता स्रोतहरू चोरी गरी ओसारपसार भइरहेको प्रमाणसहित ६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डी, रूपन्देहीका प्रहरी प्रमुख खगेन्द्र अधिकारीको नेतृत्वमा खटिएको टोलीले सैनामैना नगरपालिका–८, भड्छा क्षेत्रबाट ती सवारीसाधन नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीमध्ये अधिकांश निर्माण कार्यमा प्रयोग भइरहेका थिए, तर ती सवारीहरू गैरकानुनी रूपमा स्रोत उत्खननमा संलग्न पाइएपछि कारबाही अगाडि बढाइएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनहरूमा बा ३ क ४१३ नम्बरको स्काभेटर, बा २ क ७९९७ नम्बरको स्काभेटर, ना १ क ४५७४ नम्बरको स्काभेटर, ना ८ ख ६३१० नम्बरको टिप्पर , बा.प्र. ०६-००१ क ०३२० नम्बरको टिप्पर, बा.प्र. ०६-००१ क ०३०७ नं. को टिप्पर। ती सवारीहरूले निसेधित क्षेत्रबाट स्रोत दोहन गरिरहेको प्रमाणित भएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
उक्त गतिविधिले वातावरणीय तथा भौगोलिक सन्तुलनमा प्रतिकूल असर पार्ने भएकाले ती सवारीसाधनलाई तुरुन्त नियन्त्रणमा लिइिएको हो । यसरी ठेक्काको आडमा स्रोतको दोहन गर्नु कानुन मात्र होइन, नैतिकताको समेत उल्लङ्घन भएको नगर प्रमुख फडिन्द्र शर्माले बताए ।
नियन्त्रणमा लिइएका टिप्पर मध्ये ना ८ ख ६३१०, बा प्र ०६-००१ क ०३२० र बा प्र ०६-००१क ०३०७ नम्बरको टिप्परलाई रु ३५,००० को दरले १,०५,०००। ( एक लाख पाँच हजार मात्र) जरिवाना पश्चात छोडिएको छ । नगरपालिकाले यस्तो गैरकानुनी कार्यलाई रोक्न संयुक्त कारबाहीलाई निरन्तरता दिने बताएको छ । प्रहरीले दोषीहरूविरुद्ध थप अनुसन्धान जारी राखेको छ भने कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिने जनाएको छ ।