गणतन्त्र दिवसको अवसरमा बर्दघाटको नगर गान सार्वजनिक


पालिका पत्र

१६ जेष्ठ २०८२, बिहीबार २०:३५ मा प्रकाशित

बर्दघाट, १५ जेठ — बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै पहिचान झल्किने नगर गान सार्वजनिक गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत १ मिनेट १५ सेकेन्डको अडियो स्वरूपमा नगर गान सार्वजनिक गरिएको हो ।

यो गान २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको “नगर गीत निर्माण” योजनाअनुसार तयार पारिएको हो । नगर गान बर्दघाट प्रज्ञा प्रतिष्ठानको समन्वयमा तयार गरिएको हो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले अबदेखि पालिकाभित्रका सबै सार्वजनिक कार्यक्रममा राष्ट्रिय गानपछि नगर गान अनिवार्य रूपमा बजाइने जानकारी दिए । नगर प्रवक्ता सन्तबहादुर गाहाले नगर गानले नगरको विशिष्ट पहिचान झल्काउने भएकाले यसको प्रभावकारी प्रचारप्रसारमा सबैले सहयोग गर्नुपर्ने बताए ।

डिल्लीराज पाण्डेको शब्द, नरहरि प्रेमिको संगीत तथा विभिन्न चर्चित गायक–गायिकाहरूको स्वर रहेको नगर गानको निर्देशन डा. घनश्याम न्यौपाने परिश्रमीले गरेका छन् । गीतमा बर्दघाट नगरका प्रमुख धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्