
कपिलवस्तु, १५ जेठ ।
१८ औं गणतन्त्र दिवसको अवसर पारेर कपिलवस्तु नगरपालिकाको बजार क्षेत्रमा सरसफाई गरिएको छ । उक्त अवसरमा प्रशासन चोकमा दिप प्रज्जवलन समेत गरिएको छ ।
वि.सं. २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको अवसरमा आज देशैभर गणतन्त्र दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको परिसरमा जम्मा भएका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र कर्मचारीले नगर क्षेत्रको सरसफाई सुरु गरेका हुन ।
स्वच्छता र सरसफाई बारे सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ नगर क्षेत्रको सरसफाई गर्न थालिएको हो । प्रशासन चोकबाट सुरु भएको सरसफाई कार्यक्रम नगरको चौक बजार सहितको बजार क्षेत्र हुदै पुनः प्रशासन चोकमा पुगेर समापन हुनेछ ।
दिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, प्रजिअ दिल कुमार तामाङ, प्रहरी उपरिक्षक निरन्जनदत्त भट्ट, शसस्त्र प्रहरी उपरिक्षक नेत्र केसी, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहम्मद जाहिद खाँ, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेय, मानव अधिकारकर्मी रवि ठाकुर, रामदयाल ठाकुर, पुष्पा रेग्मी लगायतको सहभागीता रहेको छ ।
दिवसको अवसर पारेर बिहिबार साँझ प्रशासन चोकमा दिप प्रज्जवलन गरिएको छ । भोलि शुक्रबार पनि विभिन्न कार्यक्रम हुने गणतन्त्र दिवस आयोजक मुल समारोह समितिको योजना रहेको जनाईएको छ ।