
बाणगंगा, १७ जेठ
कपिलवस्तु बाणगंगाको सिद्धार्थ क्याम्पसमा उच्च शिक्षामा रूपान्तरणका लागि चुनौती र सम्भावनाहरूको खोज विषयमा केन्द्रित दोस्रो राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, नवप्रवर्तनको आवश्यकताका साथै डिजिटल शिक्षाको वर्तमान अवस्था र भावी सम्भावनाहरूको समीक्षा गर्दै सेमिनार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरपालिकाले शिक्षामा अवलम्बन गरिरहेको नीति तथा आगामी योजनाहरू प्रस्तुत गर्दै उच्च शिक्षालाई व्यवहारिक, समावेशी र रोजगारीमुखी बनाउने दिशामा सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

प्रोफेसर वेदराज आचार्यले शिक्षामा नवप्रवर्तन र अनुसन्धान संस्कृति विकास गर्न आवश्यक ढाँचाका बारेमा प्रष्ट पारे। उनले विश्वविद्यालयहरूमा विद्यार्थी केन्द्रित सिकाइ प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, प्रोफेसर बाल मुकुन्द भण्डारीले समावेशी शिक्षा प्रणाली, स्थानीय र राष्ट्रिय सन्दर्भमा नीति निर्माणको प्रभाव तथा सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो धारणा राख्दै उच्च शिक्षालाई देशको समग्र विकाससँग जोड्नुपर्ने विचार प्रस्तुत गरे ।
कार्यक्रमको आयोजना सिद्धार्थ क्याम्पस, बाणगंगा, कपिलवस्तुले गरेको हो भने बाणगंगा नगरपालिका तथा विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरले सहयोगी संस्थाका रूपमा साथ दिएका थिए ।

सेमिनारमा प्रस्तुत कार्यपत्रहरूमा डिजिटल शिक्षाको प्रभाव, ग्रामीण क्षेत्रमा उच्च शिक्षाको पहुँच, शिक्षामा लगानीको प्रभावकारिता, तथा विद्यार्थीहरूको बदलिंदो आवश्यकता जस्ता समसामयिक विषयमा गहिरो छलफल भएको थियो ।
सेमिनारमा विभिन्न क्षेत्रका शैक्षिक विज्ञ, नीतिनिर्माता, विद्यार्थी प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
