सगरहवामा नक्कली रसिद प्रयोग गरी मिलेमतोमा नदीजन्य दोहनः पालिका मौन


पालिका पत्र

१९ जेष्ठ २०८२, आईतवार १४:४९ मा प्रकाशित

कपिलवस्तु, १८ जेठ । कपिलवस्तु नगरपालिकाले चालु आर्थिक वर्षका लागि सगरहवा देखि तिलौरीघाटसम्मको नदीजन्य पदार्थ संकलनको ठेक्का दिएको श्री समयमाता निर्माण सेवाले व्यापक अनियमितता गरेको खुलासा भएको छ। तोकिएको परिमाणभन्दा पाँच गुणा बढी निकासी, नक्कली रसिदको प्रयोग र राजस्व छलिजस्तो गम्भीर विषयहरू उजागर भए पनि, ठेक्का दिने निकाय भने अझै कारबाहीमा उदासीन देखिएको छ।

नक्कली रसिद प्रयोग गरी दोहोरो कारोबार

उपलब्ध प्रमाण अनुसार मिति २०७८/०१/०७ मा ६५१ नम्बरको ठेली प्रयोग गरी लु ४ त ३१८६ नम्बरको ट्रयाक्टरमा १,३०० रुपैयाँमा नदीजन्य पदार्थ बिक्री गरिएको देखिन्छ। तर, सोही रसिद नम्बर फेरि मिति ०१/०८ मा लु ४ त ९००० नम्बरको अर्को ट्रयाक्टरमा प्रयोग गरिएको भेटिएको छ। यसले स्पष्ट पार्छ कि ठेकेदारले एकै रसिद दोहोर्याएर प्रयोग गर्दै अनधिकृत रूपमा कारोबार गरिरहेको छ।

कार्यविधि उल्लंघन

प्रदेश सरकार र स्थानीय तहद्वारा यस वर्ष लागू गरिएको “नदिजन्य पदार्थ डम्पिङ्ग कार्यविधि” अनुसार, नापजाँचपछि मात्र संकलन र निकासी गर्नुपर्ने प्रावधान छ। तर, श्री समयमाता निर्माण सेवाले न त नापजाँच गरेको छ न त प्रक्रिया पालना – सिधै नदीबाट सामग्री उठाएर नजिकैका सप्लायर्समा नक्कली रसिदसहित आपूर्ति गरिरहेको छ।

स्थानीय उद्योग र सप्लायर्सको संलग्नता

जगदिशपुर ताल क्षेत्र र तिलौराकोट आसपास करिब ३ दर्जनभन्दा बढी नदीजन्य पदार्थ बिक्री केन्द्र तथा प्रशोधन उद्योग संचालनमा छन्। अनुसन्धानबाट थाहा भएको छ कि यी मध्ये थुप्रै सप्लायर्स र उद्योगहरूले एकै प्रकारको नक्कली रसिद प्रयोग गरी व्यापार गरिरहेका छन्। यसमा उनीहरूको पनि प्रत्यक्ष संलग्नता रहेको अनुमान गर्न सकिन्छ।

अनियन्त्रित दोहन

स्थानीय ट्रयाक्टर चालकहरूका हरेक ट्रयाक्टरले औसतमा ७ देखि १५ ट्रिपसम्म गर्ने गरेको बताइएको छ। यस्तो गतिमा सामग्री उठान हुँदा सम्झौतामा उल्लेख गरिएको कुल परिमाण धेरै अघि नै सकिएको भए पनि, ठेकेदारले नक्कली बिल देखाएर अझै पनि स्टक जोगाइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्