
जेठ २० गते । कपिलवस्तु नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । “स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ मंगलबार खोप समन्वय समितिले घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख तथा खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गरे । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख आचार्यले कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेललाई हस्तान्तरण गरेका थिए । सो अवसरमा नगर प्रमुख पौडेलले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख उमेश कुमार गुप्ताले बताए । गुप्ता भन्छन्, “राष्ट्रिय खोप तालिका अनुसार नगरका १२ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।”
नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि कपिलवस्तु नगरपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा १५ महिनासम्मको उमेर समूहका एकहजार ८९४ जनामा मात्र २० जना ड्रपआउट देखिएको जनाइएको छ । यस्तै, १६ देखि २३ महिना उमेर समूहका एकहजार ५०७ जनामा ११५ जना ड्रपआउट बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए । ड्रपआउट रहेका बच्चालाई समेत खोजर खोप लगाइएको उनले जनाएका छन् । गुप्ताले भने, “सर्वेक्षण पश्चात् सबै बालबालिकाहरूलाई छुट खोप पूर्ण रूपमा प्रदान गर्न सफल भएका छौँ ।”
यस्तै, पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणाका लागि महत्वपूर्ण समन्वय गर्ने स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाले सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा सिर्जना भट्टराई, सुमित्रा ज्ञवाली, सुरेश गुप्ता, गोरख चौधरी, रमेश शर्मा, सुभाषचन्द्र यादव, मोहम्मद नुमान, कमला पन्थी, हरि नारायण चौधरी, बसन्त पौडेल, सिद्धार्थ काजी ब्रजाचार्य र गोविन्द चौधरी रहेका छन् ।
नगरप्रमुख पौडेलको अध्यक्षता, समन्वय प्रमुख आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, वडाध्यक्षहरु, स्वास्थ्य चौकीका कर्मचारी, सरोकारवाला, पत्रकार लगायतको सहभागिता रहेको थियो ।