‘सिकलसेल एनिमिया रोकथामका लागि सामूहिक प्रयास आवश्यक’


२३ जेष्ठ २०८२, बिहीबार २१:५२ मा प्रकाशित

कपिलवस्तु, २३ जेठ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले सिकलसेल एनिमिया रोग थारु समुदाय बढी बसोबास गर्ने ७ वटा जिल्लामा व्यापक देखिएको बताउँदै यसको रोकथामका लागि सबै सरोकारवाला निकायको सामूहिक प्रयास आवश्यक रहेको बताएकी छन् ।

श्रेष्ठका अनुसार, पहिले सिकलसेल एनिमिया पहिचान गर्न कठिनाइ हुने गरे पनि अहिले परीक्षण र उपचार केही सहज भएको छ। नेपालमा सिकलसेल रोगीका लागि औषधि, परीक्षण र उपचार सुविधाहरू विस्तार हुँदै गएका छन् भने सरकार आफैंले नीति बनाएर काम गरिरहेको उनले जानकारी दिइन् ।

रोग न्यूनीकरणका लागि बालबालिकाको प्रारम्भिक परीक्षण गर्नुका साथै नागरिकमा रोगसम्बन्धी सचेतना अभिवृद्धि गर्नु जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन लाल चौधरीले थारु समुदायका करिब ८० प्रतिशत मानिसमा कुनै न कुनै रूपमा सिकलसेलका लक्षण देखिने जनाउँदै, हरेक स्थानीय तहले स्क्रिनिङ टेस्ट र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

सिकलसेल एनिमिया रोकथामका लागि शिवराज नगरपालिका चन्द्रौटामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा विभिन्न सरोकारवालाहरूले सहभागिता जनाएका थिए। कार्यक्रमका सहभागीहरूका अनुसार सिकलसेल नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयात्मक पहल आवश्यक छ ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले नगर क्षेत्रमा थारु समुदायको बाक्लो बसोबास भएकाले सिकलसेल रोकथामका लागि योजनाबद्ध रूपमा कार्य अघि बढाइने बताएका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, वडा नं. १ का अध्यक्ष खिम विक्रम केसी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाललगायत वक्ताहरूले संघ, प्रदेश र स्थानीय सरकारले सिकलसेल तथा थालेसेमिया रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले सिकलसेल एनिमिया रोग, यसको लक्षण, रोकथामका उपाय र आगामी पुस्तामा रोग नफैलिन कुन उपाय अपनाउने भन्ने विषयमा जानकारी गराए। उनका अनुसार थारु समुदायका प्रत्येक १०० जनामध्ये करिब २० जनामा सिकलसेल देखिएको छ ।

श्रेष्ठले पछिल्लो समय सिकलसेल र थालेसेमिया रोकथामका लागि ‘सिकलसेल कुण्डली’जस्ता पहलहरू प्रभावकारी बनिरहेका बताए । उनका अनुसार सिकलसेल भएका युवा–युवतीहरूले कुण्डली मिलाएर विवाह गर्दा तेस्रो पुस्तामा रोगबाट जोगिन सकिने सम्भावना हुन्छ ।

नेपालमा सिकलसेल एनिमिया नवलपरासीदेखि कञ्चनपुरसम्मका जिल्लामा र थारु समुदायमा बढी देखिन्छ। तर पछिल्लो समय बिसी, योगी, रैदास, विक, कुँवर, अधिकारी तथा नेपाली समुदायमा पनि यो रोग देखा पर्न थालेको छ। तथ्यांकअनुसार यो रोग महिलाभन्दा पुरुषमा बढी देखिएको छ ।

श्रेष्ठका अनुसार, भेरी अस्पताल, बाँकेमा मात्रै हाल ४,००० भन्दा बढी सिकलसेल एनिमियाका बिरामी उपचाररत छन् । समयमै रोग पत्ता लगाउन नसक्दा समस्या जटिल हुँदै गएको भन्दै उनले विवाहपूर्व अनिवार्य परीक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, स्थानीय कर्मचारी, पत्रकार तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्