
जेठ २४ गते । इस्लाम धर्मावलम्बीले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जेठ २५ गते आइतबारका दिन कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
मुलुकभरमै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दोश्रो ठूलो चाड (ईद उल अजहा) बकर ईद शनिवार धुमधामसंग मनाएका छन् । संघिय सरकारले बकर ईदमा शनिवार सार्वजनिक बिदा दिएको भन्दै कपिलवस्तुका मुस्लिम समुदाय बेखुसीमै ईद मनाए । यद्यपि, कपिलवस्तुका ८ वटा स्थानीय सरकारले मुस्लिम समुदायको पर्वको अवसरमा भोली आइतवारका दिन सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका कपिलवस्तु नगरपालिका, महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, विजयनगर गाउँपालिका, यशोधरा गाउँपालिकामा आइतबार बिदा दिने घोषणा गरेका छन् । जिल्लाका केहि स्थानीय सरकारले शुक्रवार नै सूचना प्रकाशित गर्दै बिदाको घोषणा गरे भने केहि स्थानीय सरकारले शनिवार घोषणा गरेका हुन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । हिजरी संवत अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । मुस्लिम धर्मावलम्बीले आजदेखि पर्सि सोमवारसम्म तीन दिन यो पर्व मनाउने गर्छन् ।