
बाणगंगा, २७ जेठ ।
कपिलवस्तु जिल्लाको मायादेवी साझेदारी वन व्यवस्थापन उपभोक्ता समूहले आर्थिक वर्ष २०८१/०८२ मा करिब ८० हजार क्यू फिट काठ कटान गरेको छ । वन व्यवस्थापन योजनाअनुसार पुनरुत्पादन, सुधार तथा योजनाबद्ध कटानका माध्यमबाट यो परिमाणमा काठ संकलन गरिएको हो ।
समूहका अनुसार पुनरुत्पादन कटान अन्तर्गत पिपरा क्षेत्रबाट ५२ हजार क्यू फिट, पटना क्षेत्रबाट २० हजार क्यू फिट र सुधार कटानबाट ७ हजार क्यू फिट काठ निकालिएको हो । काठको बजार मूल्य प्रतिक्यू फिट १,२०० रुपैयाँका दरले गणना गर्दा यसबाट करिब १० करोड रुपैयाँ बराबरको आम्दानी हुने अपेक्षा गरिएको छ ।
उक्त आम्दानीमध्ये करिब ५ करोड रुपैयाँ बराबरको राजस्व लुम्बिनी प्रदेश सरकारलाई बुझाइने समूहका अध्यक्ष दिनेस कुमार जयसवालले जानकारी दिएका छन् । अध्यक्ष जयसवाल भन्छन्, “हामी केवल रूख काट्दैनौं, हामी भविष्य रोप्दैछौं । हाम्रो उद्देश्य वन व्यवस्थापनलाई समुदायमै आधारित पारदर्शी प्रणालीमा लैजानु हो ।”
उनले राजस्व बापतको पैसा प्रदेशको योजनाहरूमा जान्छ, र बाँकी समुदायमा विकास निर्माण, साना उद्यम र पुनःवन रोपाइँमा लगानी गरिने बताए । नका अनुसार ठेक्का टेन्डर प्रक्रिया पूरा भएपछि एक महिनापछि काठ बिक्री प्रक्रिया सुरु गरिनेछ । यस कटानबाट झण्डै २०० चट्टा दाउरा पनि उत्पादन भएको छ, जसको बिक्री प्रक्रिया सुरु भइसकेको छ ।