अत्यधिक गर्मी बढेपछि कपिलवस्तुमा विद्यालय बन्द !


पालिका पत्र

२८ जेष्ठ २०८२, मंगलवार १४:५७ मा प्रकाशित

जेठ २७ गते । अत्यधिक गर्मी बढेपछि कपिलवस्तुका बिभिन्न पालिकाले विद्यालय विदा दिएका छन् । जिल्लाका कपिलवस्तु, बुद्धभुमि, बाणगंगा, यशोधरा र विजयनगर गाउँपालिका गरि पाँच पालिकाले गर्मी विदा दिएका हुन् ।

बुद्धभुमि र बाणगंगा नगरपालिकाले मंगलबार गते २७ गतेदेखि शुक्रवार ३० गतेसम्म (चार दिन) गर्मी विदा दिएका छन् । दुवै पालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

दुवै पालिकाले जेठ २७ देखि ३० गतेसम्म विद्यालय बन्द रहने सूचना निकालेका छन् । बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसिले गर्मी निरन्तर बढ्दै गएपछि पठनपाठनमा समस्या आएकाले विद्यालय ४ दिन विदा दिइएको बताए ।

पठनपाठनमा समस्या आएकाले ४ दिनका लागि विदा दिइएको बुद्धभुमी नगरपालिका शिक्षा शाखाका कृष्णप्रसाद भट्टराईले बताएका छन् ।

यता, कपिलबस्तु नगरपालिका र यशोधरा गाउँपालिकाले बुधवार २८ गतेदेखि शुक्रवार ३० गतेसम्म तीन दिन सम्म गर्मी विदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले जारी गरेको विज्ञप्तिमा बढ्दो अत्यधिक गर्मीले बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।

यस्तै, यशोधरा गाउँपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे विदाबाट कट्टा हुने गरी तीन दिन (२८ गतेदेखि ३० गते) सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले जनाए ।

यस्तै, विजयनगर गाउँपालिकाले पनि २८ गते बुधबारदेखि ३० गतेसम्म तीनदिन गर्मी विदाको घोषणा गरेको छ । पालिकाले बर्षे विदाबाट कट्टा हुने गरि गर्मी विदा दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जनाएका छन् ।

जिल्लाका अधिकांश विद्यालय टीनको छानो भएको र विद्युत् समेत अनियमित हुने गरेको छ। जसले गर्दा गर्मीमा पठनपाठनमा समस्या आउने गरको शिक्षकहरू बताउँछन् । गर्मीका कारण साना बालबालिकाहरू कक्षाकोठामै निदाउने, अर्धचेत हुने समस्या बढेको शिक्षकहरू बताउँछन् ।

जिल्लाका अन्य ६ स्थानीय तहले समेत विद्यालय बन्द गर्नेबारे छलफल चलेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्