
कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि व्यवसायको प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको “एग्रीवस्तु कृषि तारा–२०८२” प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । असार १३ गते (शुक्रबार) साँझ बुद्धभूमि–१० स्थित एग्रीवस्तु कोल्ड स्टोरेज प्राङ्गणमा हुने उक्त भव्य कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई सम्मान गरिने आयोजकहरूले जनाएका छन् ।
वैशाख मसान्तसम्म आवेदन खुला गरिएको यस प्रतियोगितामा जिल्लाभरिका विभिन्न पालिकाबाट ९० वटा आवेदन प्राप्त भएका थिए । मौरीविद् अनिरुद्धनाथ शुक्लाको संयोजकत्वमा गठित पाँच सदस्यीय मूल्याङ्कन समितिले क्षेत्रफल, उत्पादन, फिल्ड अनुगमन लगायतका आधारमा ५ जना उत्कृष्ट कृषक र ५ जना सान्तवना पुरस्कारका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ ।
समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेश ओझा, कृषिविद् खुर्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्यको रूपमा रहेका छन् ।
संयोजक शुक्लाले निष्पक्ष र पारदर्शी मूल्याङ्कनका आधारमा योग्य कृषकको छनोट गरिएको बताए । कार्यक्रमले कृषकहरूलाई सम्मान गर्नुका साथै कृषि पेशाको सामाजिक प्रतिष्ठा बढाउने विश्वास उनले व्यक्त गरे ।
कृषि ज्ञान केन्द्र प्रमुख पौडेलले यो पहिलो पटक हुन लागेको कार्यक्रम किसानहरूका लागि प्रेरणादायी बन्ने धारणा राखे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख ओझाले कृषक मूल्याङ्कन चुनौतीपूर्ण भए पनि निष्पक्षतामा कुनै सम्झौता नगरिएको बताए ।
एग्रीवस्तु प्रा.लि.का प्रबन्ध निर्देशक आशिष शर्माले कृषिमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रमले युवाहरू, महिला कृषकहरू र वैदेशिक रोजगारबाट फर्किएका कृषकहरूलाई विशेष सम्मान गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
प्रतियोगितामा तीन विधाअन्तर्गत पाँच जना कृषकहरूलाई “कृषि तारा” उपाधिसहित नगद पुरस्कार प्रदान गरिनेछ । कृषि तारा प्रथमले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, विदेशबाट फर्किएका उत्कृष्ट कृषि उद्यमी र उत्कृष्ट महिला कृषकले ५०–५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य पाँच जनालाई सान्तवना स्वरूप विशेष सम्मान प्रदान गरिनेछ ।
मुख्य आयोजक दीपकुमार उपाध्याय फाउन्डेसन रहेको यो कार्यक्रमले कपिलवस्तु जिल्लामा कृषकहरूमा नयाँ उत्साह र आत्मविश्वास थप्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सबैलाई सहभागी भइदिन आग्रह गर्दै आयोजकहरूले निमन्त्रण नपुगेका व्यक्तिहरूलाई पनि खुलेर सहभागिताको निम्तो दिएका छन् ।