मधुवन सामुदायिक वनद्वारा विभिन्न वर्गलाई नगद सहित सामग्री सहयोग


पालिका पत्र

३१ जेष्ठ २०८२, शुक्रबार २१:२७ मा प्रकाशित

बाणगंगा, ३० जेठ।
मधुवन सामुदायिक वन उपभोक्ता समूहले अति विपन्न, अपाङ्ग र असहाय वर्गका बालबालिका तथा उपभोक्ताहरूलाई लक्षित गर्दै राहत तथा शैक्षिक सामग्री सहयोग वितरण गरेको छ । शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी समूहले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत विभिन्न सहयोग कार्यक्रमहरू सञ्चालन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले समुहको सामाजिक उत्तरदायित्वप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले समुदायमा सकारात्मक ऊर्जा र सामाजिक सद्भाव सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ”सामुदायिक वन उपभोक्ता समूह केवल वन संरक्षणमा सीमित नरही, समाजका असहाय वर्गप्रति उत्तरदायी बन्नु अत्यन्त सराहनीय कदम हो।”

कार्यक्रममा अति विपन्न तथा बेसाहारा बालबालिकाहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ। जसअनुसार
रु २ लाख बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री ४० जना विद्यार्थीलाई प्रदान गरिएको छ । शैक्षिक सामग्री वाणगंगा उच्च मावि लौगाईका ९ जना, जनता मावि पिपराका १ जना, जननी आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई स्टेशनरी सामग्री, ड्रेस, झोला, जुत्ता,मोजा, कापी,कलम लगायत वितरण गरिएको हो ।

त्यसैगरी, गरिब, असहाय र अपाङ्ग उपभोक्ता परिवारहरूका लागि खाद्यान्न सहयोग तथा आर्थिक सहयोग प्रदान गरिएको छ । ९ जना गरिब उपभोक्तालाई चामल, दाल, तेलजस्ता आवश्यक खाद्य सामग्री वितरण गरिएको छ, जसको कुल लागत रु ५०,००० रहेको छ । १० जनालाई प्रति व्यक्ति रु ५,००० को दरले प्रदान गरिएको छ। यस्तै २५ जना अपाङ्ग उपभोक्तालाई प्रति व्यक्ति रु ७,००० को दरले जम्मा रु २ लाख २५ हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष शान्त बिक्रम पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा समूहका सल्लाहकार कृष्ण पौडेल, लेखा समितिका संयोजक मधु अर्याल लगायतले आफ्ना भनाइ राख्दै यस्ता कार्यक्रमले वन संरक्षणसँगै सामाजिक समावेशीता र सेवामूलक दृष्टिकोणलाई मजबुत बनाउने उल्लेख गरेका थिए ।

समूहका अध्यक्ष शान्त बिक्रम पौडेलको अध्यक्षता, उपाध्यक्ष सालिकराम पौडेलको स्वागत रहेको कार्यक्रम सचिव अनिता थापाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा वन उपभोक्ता समूहका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्