
कपिलवस्तु, जेठ ३० ।
चर्को गर्मी र असहज मौसमलाई ध्यानमा राख्दै कपिलवस्तु जिल्लाका दुई प्रमुख नगरपालिका — बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाले शैक्षिक संस्थाहरूको गर्मी बिदा थप गर्ने निर्णय गरेका छन्।
बाणगंगा नगरपालिकाले मिति २०८२ साल जेठ २७ गते सूचना जारी गर्दै, जेठ ३० गतेसम्मका लागि घोषित गर्मी बिदा मौसममा सुधार नदेखिएको कारणले असार १ गतेदेखि ३ गतेसम्म थप गरिएको जनाएको छ। साथै, सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा सो निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
यस्तै, कपिलवस्तु नगरपालिकाले जेठ २८ देखि ३० गतेसम्मका लागि घोषणा गरिएको गर्मी बिदा मौसममा सुधार नदेखिएकोले असार ३ गतेसम्म बिदा थप गरिएको जानकारी दिएको छ। शिक्षा शाखाबाट जारी सूचनामा तोकिएको मितिसम्म विद्यालय बन्द राख्न अनुरोध गरिएको छ।
लगातारको अत्यधिक गर्मी र बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै दुबै नगरपालिकाले गर्मी बिदा थप्ने निर्णय लिएको स्पष्ट पारेका छन्।