श्रृङ्गीघाट सामुदायिक वनद्वारा शिक्षकलाई तलब र कृषकलाई स्प्रे ट्याङ्की


पालिका पत्र

५ असार २०८२, बिहीबार ०८:२७ मा प्रकाशित

बाणगंगा, ०५ असार । कपिलवस्तुको बाणगंगा नगरपालिका–स्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले कृषि र शिक्षामा लक्षित दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार आयोजित कार्यक्रममा वनले १४ मौजाका किसानलाई १३६ वटा स्प्रे ट्याङ्की वितरण गर्नुका साथै, वन क्षेत्रभित्रका पाँच सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब हस्तान्तरण गरेको हो ।

कार्यक्रममा वनकी सचिव सुष्मा खाँणले मौजा संयोजकमार्फत किसानलाई स्प्रे ट्याङ्की प्रदान गरिएको जानकारी दिनुभयो । यस्तै, विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई प्रति शिक्षक १५ हजार रुपैयाँका दरले तलब हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । यी सबै कार्यक्रम वनको आर्थिक वर्ष २०८१/८२ का स्वीकृत योजनाअन्तर्गत गरिएको हो ।

वन अध्यक्ष सुसिलसिंह ठकुरीले वन संरक्षणसँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा श्रृङ्गीघाटले विशेष ध्यान दिएको बताउनुभयो । सिंचाइ अभावको समस्यालाई ध्यानमा राख्दै कुलो निर्माण समेत गरिएको जानकारी उहाँले दिनुभयो । कृषकले किटनाशक औषधिको प्रभावकारी प्रयोगमार्फत उत्पादन बढाउन सकून् भन्ने उद्देश्यले स्प्रे ट्याङ्की वितरण गरिएको उहाँको भनाइ थियो ।

सव डिभिजन कार्यालय मोतिपुरका प्रमुख एजाज अहमद अन्सारीले सामुदायिक वन प्रणालीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताउँदै, शिक्षा र कृषि समाजको मेरुदण्ड भएकोमा जोड दिनुभयो । बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने आवश्यकताको चर्चा गर्नुभयो । कृषि शाखा प्रमुख लेस बहादुर केसीले परम्परागत कृषिबाट आधुनिक कृषि प्रणालीमा रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले श्रृङ्गीघाट सामुदायिक वनले योजनाबद्ध रुपमा उत्कृष्ट कार्य गर्दै आएको र अब लुम्बिनी प्रदेशमै नमुना सामुदायिक वनका रुपमा स्थापित हुँदै गएको प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्