
बाणगंगा, ०५ असार । बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सामाजिक विकास र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकता राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख चक्रपाणी अर्यालले बिहीबार बसेको १७औं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
‘ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा’ भन्ने कार्य रणनीतिलाई आत्मसात गर्दै नगरले समावेशी, समानुपातिक र सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । “राष्ट्रिय र प्रादेशिक अभियान सम्पन्नताको सुनिश्चितता, सामाजिक विकासमा लगानी हाम्रो प्राथमिकता” भन्ने नारासहित बाल स्वास्थ्य, पोषण तथा स्वास्थ्य सेवामा विशेष जोड दिइएको छ ।
बालबालिकाका लागि पूर्ण खोपको निरन्तरतासँगै पोषण परीक्षण कार्यक्रमलाई सुदृढ बनाइनेछ । किशोरीका लागि आइरन चक्की वितरण, रक्तअल्पता स्क्रिनिङ्ग तथा पत्रु खाना नियन्त्रण जस्ता कार्यक्रम निरन्तरता पाउने छन् ।
पिपरा अस्पतालमा स्त्रीरोग, हाडजोर्नी, आँखा, मानसिक, नाककानघाँटी तथा जनरल फिजिसियन सेवा विस्तार गरी सुविधायुक्त नगर अस्पताल बनाउने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
स्वास्थ्य संस्था, वडा तथा नगरपालिका पोषणमैत्री घोषणा गर्नका लागि पूर्वाधार निर्माणमा आवश्यक बजेट छुट्याइने बताइएको छ । खेलकुदलाई संस्थागत गर्न “एक वडा, एक खेलमैदान” तथा “एक खेल विधा, एक खेलमैदान” अवधारणाअनुसार लगानी गरिनेछ ।
नगरप्रमुख अर्यालका अनुसार आगामी आर्थिक वर्षका लागि करिब १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याइनेछ । चालु आव २०८१/८२ मा १ अर्ब २८ करोड ५ लाख २४ हजारको बजेटमध्ये ८० प्रतिशत निकासा भइसकेको र ७४.५ प्रतिशत खर्च भएको जानकारी पनि दिनुभयो ।
आन्तरिक स्रोतबाट १५ करोड ४ लाख ६१ हजार ४६३ रुपैयाँ राजस्व संकलन भइसकेको र यो प्रक्षेपणको ८५ प्रतिशतभन्दा बढी भएको नगर प्रमुखले जानकारी दिनुभयो ।
बैठकमा नगर उपप्रमुख रिता कुमारी चौधरीले प्रस्तुत गरेको आर्थिक विधेयक २०८२, पूर्वाधार विकास समितिका संयोजक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको योजना संशोधन प्रस्ताव लगायत नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरिएको छ ।