पिपरा अस्पतालमा जटिल शल्यक्रियाले जोगायो आमा र शिशुको ज्यान


६ असार २०८२, शुक्रबार ०८:२७ मा प्रकाशित

कपिलवस्तु, ६ असार ।
पूर्व प्रसूति जाँच (ANC) नगरेकी महिलाबाट पिपरा अस्पतालमा जटिल शल्यक्रिया गरी आमा र शिशुको ज्यान बचाइएको छ । बाणगंगा नगरपालिका–६ की ३३ वर्षीया ममता गन्धर्व (नाम परिवर्तन) बुधबार साँझ प्रसव पीडासहित अस्पताल ल्याइएकी थिइन् ।

गर्भावस्थाका अनिवार्य आठवटै ANC जाँच नगरिएकाले अवस्था झन जटिल भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल पुर्‍याइएपछि शिशुको तौल अत्यधिक रहेको पत्ता लागेपछि तत्काल सर्जरी गर्ने निर्णय गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सरस्वती भट्टराईले जानकारी दिइन् ।

“सामान्यतया दुईदेखि साढे तीन किलो तौलको शिशु सामान्य मानिन्छ । तर ममताको पेटमा पाँच किलो तौलको शिशु रहेकाले शल्यक्रिया निकै जटिल भयो,” महिला तथा प्रसूति रोग विशेषज्ञ डा. जागृति खनालले भनिन् । “चार किलोभन्दा बढी तौलको शिशु निकाल्दा अत्यधिक रक्तस्रावको जोखिम हुन्छ ।”

समयमै गरिएको प्रयासका कारण आमा र शिशु दुवैको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ। ममता चौथो सन्तानको जन्म दिन आएकी थिइन् । आर्थिक अवस्था कमजोर भएकाले औषधिपचार खर्च समेत नभएको अवस्थामा अस्पतालका स्वास्थ्यकर्मीहरूले व्यक्तिगत रूपमा सहयोग गरेका थिए ।

शल्यक्रिया, औषधिपचार, रगत व्यवस्थापनदेखि पौष्टिक आहारसम्मका सबै सेवा अस्पतालले निःशुल्क उपलब्ध गराएको जनाएको छ ।

पिपरा अस्पतालले २०८१ साल भदौदेखि शल्यक्रिया सेवा सुरु गरेको हो। “त्यो दिन दुई जना महिलाको शल्यक्रियाबाट सेवा प्रारम्भ गरिएको थियो,” अस्पतालका पूर्व चिकित्सक डा. गणेश क्षेत्रीले सम्झिए।

स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन अस्पतालले कार्य योजना बनाएर अघि बढेको र अहिले जिल्लामै उत्कृष्ट स्वास्थ्य संस्था बनेको वाणगंगा नगरपालिकाका नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी अर्यालले बताए ।

उनका अनुसार हाल पिपरा अस्पतालमा कपिलवस्तु मात्र होइन, अर्घाखाँची र रुपन्देहीबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्