
बाणगंगा, ०६ असार ।
एकल महिलाको जीवनस्तर उकास्ने र स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिकामा वारिष्टा (कफी सेवा सम्बन्धी) तालिम सुरु गरिएको छ । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा कपिलवस्तु स्कुल अफ मेनेजमेन्ट र मानव अधिकारको लागि एकल महिला समूहको सहकार्यमा असार ६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने तालिममा १५ जना एकल महिला सहभागी छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा सहभागी सव डिभिजन कार्यालय मोतिपुरका प्रमुख एजाज अहमद अन्सारीले होटल व्यवसाय मर्यादित र सम्मानजनक पेशा भएको उल्लेख गर्दै, श्रममा आधारित सीपमार्फत महिलाहरुको आत्मनिर्भरता विकास हुने बताए । उनले वारिष्टा सम्बन्धी सीप सिकेर व्यवसायिक अवसरको उपयोग गर्न सकिने धारणा राखे ।
अध्यक्ष गणेशबहादुर सिंह ठकुरीले सीपमूलक तालिम निरन्तर सञ्चालन गर्दै होटल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने योजना रहेको जानकारी गराए । वन समूहकी सचिव सुष्मा खाँणले तालिमले महिलामा आत्मविश्वास र दक्षता अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
कपिलवस्तु स्कुल अफ मेनेजमेन्टका प्रमुख दिलिप आलेले तालिमलाई व्यवसायीको सीप विकास तथा हकहितको संरक्षणतर्फ केन्द्रित गरिएको बताए । उनले तालिमलाई गर्व गर्न सकिने कार्यक्रमको रूपमा उल्लेख गर्दै, भविष्यमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाइने बताए । यो तालिमले एकल महिलालाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्याउने आयोजकहरुको विश्वास छ ।