
बाणगंगा, असार ७
बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगर प्रवक्ता विष्णु प्रसाद पौडेलका अनुसार बैठकले १७औं नगरसभाको दोस्रो अधिवेशनका कार्यसूची पारित गर्नुका साथै आगामी कार्यक्रम र निर्णयहरू तय गरेको हो ।
प्रवक्ता पौडेलले जानकारी दिनुहुँदै आगामी असार १० गते बिहान ७ बजेदेखि बैरियास्थित मायादेवी रिसोर्टमा नगरसभाको दोस्रो अधिवेशन सञ्चालन हुने जानकारी दिनुभयो । अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ ।
नगर उपप्रमुख रिता कुमारी चौधरीले आगामी वर्षको बजेट, विनियोजन विधेयक र त्रिवर्षीय बजेट प्रक्षेपणसहित मध्यकालीन खर्च संरचना प्रस्ताव गर्नुहुनेछ । यस्तै, विभिन्न विषयगत समितिका संयोजकहरूले आफ्नो प्रतिवेदन पेश गर्ने कार्यक्रम पनि तय भएको छ ।
नगर प्रमुख चक्रपाणी अर्यालले नगरसभामा उठेका प्रश्नहरूको जवाफ दिने र विविध निर्णय तथा प्रस्तावहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट पारित भइसकेपछि सभाको समापन गरिनेछ ।
कार्यपालिका बैठकले सोही दिन दिउँसो १२ बजेदेखि मायादेवी रिसोर्टमै बजेट सार्वजनिकिकरण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ । कार्यक्रममा आगामी आर्थिक वर्षको १ अर्ब ७६ करोड ८० लाख बराबरको अनुमानित बजेट तथा कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ । बाणगंगाले यसअघि असार ५ गते सामाजिक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।