
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विस्तृत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरको समग्र विकासलाई लक्षित गर्दै ११७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कार्यक्रम हनुमान चौकस्थित बहुउद्देश्यीय सभा हलमा सम्पन्न भएको थियो।
श्रेष्ठले सार्वजनिक गरेका नीतिहरू भौतिक पूर्वाधार, सार्वजनिक सेवा र प्रशासनिक सुधार, आर्थिक वृद्धि, सामाजिक समावेशीकरण र वातावरण तथा विपद् व्यवस्थापनका पाँच मुख्य क्षेत्रलाई समेटेका छन्। अधुरा सडक योजनाको प्राथमिकता, खरको छानामुक्त अभियानको निरन्तरता र लागत साझेदारीमा आधारित पूर्वाधार निर्माण नीति प्रमुख रहे।
सार्वजनिक सेवा सुधारतर्फ सात दिनभित्र भुक्तानीको सुनिश्चितता, कार्य सम्पादन सम्झौता, वित्तीय अनुशासन, उत्कृष्ट कर्मचारीलाई पुरस्कार र छाडा चौपाया व्यवस्थापन लगायतका बुँदा उल्लेखनीय छन्। आर्थिक क्षेत्रमा “एक वडा एक उत्पादन”, सिचाइ सुधार, पशुपालन, जैविक कृषि प्रवर्द्धन, लघु उद्यम र पर्यटन पूर्वाधार निर्माणको लक्ष्य राखिएको छ।
सामाजिक क्षेत्रमा बालमैत्री नगर घोषणालाई अगाडि बढाउने, सडक बालबालिका मुक्त पालिका बनाउने, नगर अस्पताल सञ्चालन, पोषण केन्द्र विस्तार र खेलकुदलाई प्राथमिकता दिइने बताइएको छ। वातावरण र विपद् व्यवस्थापनतर्फ मासिक सरसफाइ, खोला-खोल्सीको संरक्षण, डढेलो सचेतना र निजी वन दर्तामा प्रोत्साहन नीति समावेश गरिएको छ।
नगर प्रमुख श्रेष्ठले बुड्डी–टिक्कर–बिजगौरी सडकका लागि संघीय सरकारबाट लागत साझेदारीमा बजेट सुनिश्चित भएको र बुड्डी तालको व्यवस्थापन गरी पर्यटन प्रवर्द्धन गरिने जानकारी गराए।
उपप्रमुख मिरा थारुले १ अर्ब २२ करोड २२ लाख ६१ हजारको अनुमानित बजेट प्रस्तुत गर्दै विनियोजन विधेयक सभामा पेश गरेकी थिइन्, जसलाई सभाले पारित गरेको छ। लेखा समिति संयोजक गोविन्द प्रसाद आचार्यले अघिल्लो वर्षको मलेप प्रतिवेदनको आधारमा बेरुजु नियन्त्रणमा जोड दिए भने विधेयक समिति संयोजक सन्दीप कुमार पाण्डेयले छाडा चौपाया नियन्त्रण, नदीजन्य पदार्थ व्यवस्थापन र स्वास्थ्य सेवा ऐन तथा खानेपानी ऐन संशोधनका विधेयक प्रस्ताव पेस गरेका थिए।