
बाणगंगा, असार ८ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकममा विगतको तुलनामा उल्लेखनीय सुधार गर्दै वित्तीय अनुशासनमा उदाहरणीय सफलता हासिल गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा पालिकाको बेरुजु रकम २ करोड १५ लाख रुपैयाँ मात्र रहेको छ। यो विगतको तुलनामा निकै कम हो। खासगरी यसमा नियमित प्रकृतिका बेरुजु बढी रहेको उल्लेख गरिएको छ ।
पालिकाका लेखा अधिकृत मनिष पाण्डेले विगतका बेरुजुको अवस्था खुलाउँदै आर्थिक वर्ष २०७४/७५ मा १२ करोड ३३ लाख र २०७६/७७ मा २० करोड ३३ लाख बेरुजु देखिएको बताए । त्यस्तै, विगतका अन्य वर्षहरूमा पनि हरेक वर्ष पाँच करोड रुपैयाँभन्दा बढी बेरुजु देखिँदै आएको थियो । तर पछिल्ला दुई आर्थिक वर्षमा क्रमिक रूपमा बेरुजु घटाउँदै लानेतर्फ उल्लेखनीय सफलता प्राप्त भएको उनले बताए । यसमा जनप्रतिनिधि, कर्मचारी र नागरिक समुदायको समन्वयपूर्ण प्रयासको भूमिका महत्वपूर्ण रहेको स्पष्ट गरिएको छ ।
यसका साथै, स्थानीय तहको संस्थागत क्षमता आत्ममूल्यांकन (LISA) मा पनि पालिकाले उल्लेखनीय प्रगति हासिल गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा जम्मा २५.६७ प्रतिशत अंक प्राप्त गर्ने पालिकाले २०८०/८१ मा ८५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै, स्थानीय तहको वित्तीय जोखिम मूल्यांकन (IRM) मा पनि पालिकाले आर्थिक वर्ष २०७८/७९ मा ५७ प्रतिशतबाट वृद्धि गर्दै २०८०/८१ मा ७६.५ प्रतिशतसम्मको उपलब्धि हासिल गरेको छ ।
पालिकाले आर्थिक र प्रशासनिक सुशासन कायम गर्नका लागि विभिन्न विद्युतीय प्रणालीको प्रयोगलाई प्रभावकारी बनाएको छ। अनलाइन राजस्व प्रणाली, जिन्सी व्यवस्थापन, योजना प्रणाली, घटनादर्ता, सामाजिक सुरक्षा भत्ता भुक्तानी र बोलपत्र प्रणाली जस्ता डिजिटल उपकरणमार्फत पारदर्शिता र गति बढाइएको छ ।
यसबाहेक, यातायात पूर्वाधार, विद्यालय र स्वास्थ्य संस्था भवन, खानेपानी, सिँचाइ संरचना, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, जनशक्ति विकास र चेतनामूलक कार्यक्रमहरूलाई समेत सशक्त रूपमा अघि बढाइएको छ ।