तेस्रो लिङ्गीमाथि समाजको दृष्टिकोण परिवर्तन आवश्यक : उपप्रमुख चौधरी


पालिका पत्र

८ असार २०८२, आईतवार २०:४६ मा प्रकाशित

बाणगंगा, असार ८
बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले नगरलाई पूर्ण रूपमा हिंसा तथा विभेदमुक्त बनाउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । आइतबार श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा र महिला बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा सम्पन्न एकदिने लैंगिक हिंसा विरुद्धको प्रशिक्षण कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले विगतको तुलनामा अहिले नगरमा विभेद र हिंसा कम भएको उल्लेख गर्नुभयो ।

उहाँले दलित, एकल महिला, जनजाति, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सहभागीहरूसँग संवाद गर्दै हिंसा र विभेदको प्रमुख कारण कमजोर आर्थिक अवस्था भएको बताउँदै सबैलाई आर्थिक रूपले सक्षम बनाउने दिशामा काम गर्न आवश्यक रहेको बताउनुभयो । समाजमा तेस्रो लिङ्गीप्रति अझै सकारात्मक दृष्टिकोण नदेखिएको उल्लेख गर्दै उहाँले सामाजिक सोचमा सुधार ल्याउनु आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुसिलसिंह ठकुरीले संविधानले हरेक समुदायलाई अधिकार सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको टिप्पणी गर्नुभयो । उहाँले सामुदायिक वनले भौतिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको र यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम सचिव सुष्मा खाँणको सञ्चालनमा सम्पन्न भएको थियो भने सिद्धार्थ सामाजिक विकास संस्थाकी अध्यक्ष सुर्यकुमारी शाही, सल्लाहकार विष्णु थापा, महिला नेतृ सुनिता सेन लगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण मानव अधिकार, सञ्चार, सुशासन तथा लैंगिक समानता विषय विशेषज्ञ रिमा विसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्