
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७६ करोड ७६ लाख ३९ हजार ९ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १४औं नगरसभाबाट सर्वसम्मतिले नीति तथा कार्यक्रमहरू पारित गर्दै आगामी वर्षको विकासको खाका तय गरिएको हो।
नगर प्रमुख रजत प्रताप शाहले सामाजिक समावेशीकरण, प्रविधिमैत्री सेवा, सुशासन, जनमैत्री प्रशासनमार्फत लोक कल्याणकारी सेवा विस्तारमा जोड दिँदै नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरे।
बजेटमा सडक, सिँचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, ढल निकास, शहरी पूर्वाधार विकास, कृषि तथा पशुपालन, सीप तथा दक्षता विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र संरक्षण कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ।
नगर प्रमुख शाहले नगरको प्रगति प्रतिवेदन पनि नगरसभामा प्रस्तुत गरेका थिए। नगरसभाले आर्थिक विधेयक, विनियोजन विधेयक र विज्ञापन विधेयक पारित गरेको जनाएको छ।
नगर उपप्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, सम्पूर्ण नगरसभा सदस्यहरूको सहभागितामा नगरसभा सम्पन्न भएको थियो ।