
शितगंगा, १० असार ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९३ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार उपप्रमुख गीता भाटले १७औं नगरसभाको दोस्रो बैठकमार्फत बजेट प्रस्तुत गरेकी हुन् ।
बजेट स्रोतमा संघीय सरकारबाट सशर्त, समपुरक र समानीकरण अनुदानमार्फत ८२ करोडभन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, प्रदेश सरकार र आन्तरिक राजस्वबाट पनि महत्वपूर्ण हिस्सा प्राप्त हुने उल्लेख गरिएको छ।
नगर प्रवक्ता दामोदर न्यौपानेका अनुसार बजेट सर्वसम्मत पारित भएको छ । नगर प्रमुख छबिलाल पौडेलले पेश गरेका विभिन्न विधेयकहरू — आर्थिक विधेयक २०८२, विनियोजन ऐन २०८१ को पहिलो संशोधन, अपाङ्गता अधिकार विधेयक र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति पनि पारित भएका छन् ।
नगरप्रमुख पौडेलले बजेट र कार्यक्रम कार्यान्वयनमुखी भएको बताउँदै नगरवासीको आशा र अपेक्षा पुरा गर्ने विश्वास व्यक्त गरे । सूचना अधिकारी नुमलाल खनालले सडक निर्माण र स्तरोन्नतिको क्षेत्रमा प्रमुख प्राथमिकता दिइएको जानकारी दिएका छन् ।