तिलोत्तमाको २ अर्ब ९२ करोडको बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्यमा जोड


पालिका पत्र

१० असार २०८२, मंगलवार १९:२१ मा प्रकाशित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

सोमबार बसेको दोस्रो नगरसभाको सातौँ अधिवेशन (तेस्रो बैठक) मा नगर उपप्रमुख जगेश्वरी देवी चौधरीले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४.१७ प्रतिशत र पूँजीगत खर्चतर्फ ५५.८३ प्रतिशत विनियोजन गरिने जानकारी दिइन्।

गत आर्थिक वर्ष २०८१/८२ मा तिलोत्तमाको बजेट २ अर्ब ७६ करोड रुपैयाँको रहेको थियो। यस वर्षको बजेटमा आन्तरिक आम्दानीबाट ३३ करोड र बाँकी २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट प्राप्त हुने अनुमान गरिएको छ।

उपप्रमुख चौधरीका अनुसार ‘समृद्ध नगर, सुखी नगरवासी’ भन्ने लक्ष्यलाई आधार मानी बजेटको संरचना तयार गरिएको हो। शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, उद्यमशीलता तथा नवप्रवर्तनद्वारा रोजगारी सिर्जना, वातावरण तथा विपद् व्यवस्थापनमा लगानी बढाइ समुन्नत र सुरक्षित नगर निर्माणलाई प्राथमिकता दिइनेछ।

प्रतिक्रिया दिनुहोस्