बुटवलको ३ अर्ब ३६ करोडको बजेट सार्वजनिक


पालिका पत्र

१० असार २०८२, मंगलवार १९:४० मा प्रकाशित

बुटवल, १० असार ।
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख सावित्रा अर्यालले नगरसभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा बजेट प्रस्तुत गर्दै चालू खर्चतर्फ ४९ प्रतिशत र पुँजीगत खर्चतर्फ ५१ प्रतिशत विनियोजन गरिएको जानकारी दिइन् ।

उनका अनुसार, आन्तरिक स्रोतबाट ९५ करोड राजस्व संकलन हुने अपेक्षा गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको यो बजेटले निजी क्षेत्रसँग सहकार्य गर्दै बुटवलको समृद्धिको सपना साकार पार्ने योजना अघि सारेको छ ।

पर्यटन प्रवर्द्धनका लागि ५० लाख, सांस्कृतिक सहर विकासका लागि १ करोड १५ लाख, शिक्षा क्षेत्रमा सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, किसानहरुको सशक्तिकरणका लागि ‘बुटवलका किसान हाम्रो सान’ कार्यक्रमअन्तर्गत १ करोड विनियोजन गरिएको छ ।

यस्तै ‘छोरी पढाऊँ’ अभियान अन्तर्गत छात्राहरुलाई निःशुल्क अध्ययनका लागि ५० लाख, विपन्न वर्गका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराउन ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड बजेट छुट्याइएको छ ।

स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिकका लागि ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रमका लागि ९० लाख, महिलामा क्यान्सरजस्ता रोगको परीक्षण तथा जनचेतनाका लागि ३० लाख, स्थानीय अस्पताल व्यवस्थापनका लागि ६० लाख विनियोजन गरिएको छ ।

झुम्सा खानेपानी ल्याउन पाल्पाको तिनाउ गाउँपालिकाको मुहान विकासमा २ करोड, गृहिणी महिला तथा उद्यमशील महिलालाई स्वरोजगारमा जोड्न गरी ३ करोड ७० लाख, दलित समुदायको परम्परागत पेशालाई संरक्षण तथा व्यवसायीकरण गर्न ८५ लाख, बुटवलको सडक सौन्दर्यीकरणका लागि ३ करोड बजेट छुट्याइएको छ ।

त्यस्तै, जितगढी किल्ला नजिक आरती केन्द्र निर्माणका लागि ५ करोड, गौशाला व्यवस्थापनमा १ करोड, दुग्ध उत्पादन प्रोत्साहनमा ५० लाख, कालिकापथ र अमरपथ क्षेत्रमा रात्री बजार सञ्चालनमा ५० लाख र अव्यवस्थित बस्ती नापजाँचमा १ करोड ५० लाख तथा पुनःनापीमा २ करोड विनियोजन गरिएको छ ।

नगर प्रमुख खेलराज पाण्डेयले बजेट नीति सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र रोजगार प्राथमिकतामा रहेको उल्लेख गरे । उनले ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराइने र गृहिणी महिलालाई स्वरोजगारमा जोड्दै ‘कोशेली घर’ स्थापना गरिने बताए ।

उनले ‘घुमौं बुटवल’ अभियान अन्तर्गत यो आर्थिक वर्षलाई ‘बुटवल भ्रमण वर्ष’ घोषणा गर्ने जानकारी पनि गराए । गौशालाको व्यवस्थापन र विस्तारका लागि चारपाला सामुदायिक वनमा कामधेनु गौशाला तथा अन्य स्थानमा आवश्यक संरचना निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्