कृषक पौडेल उत्कृष्ट कृषकका रूपमा सम्मानित


पालिका पत्र

१० असार २०८२, मंगलवार २०:०९ मा प्रकाशित

बाणगंगा, १० असार । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का कृषक दिपेन्द्र बिक्रम पौडेललाई नगरपालिकाले उत्कृष्ट कृषकको रूपमा सम्मान गरेको छ । बाणगंगा नगरपालिकाको १७औँ नगरसभा तथा दोस्रो अधिवेशनको अवसरमा नगरले कृषक पौडेललाई नगद रु १० हजार, सम्मानपत्र र दोसल्ला ओढाएर विशेष सम्मान प्रदान गरेको हो ।

पशुपालन विशेषगरी भैंसीपालनमा समर्पित पौडेल विगत १४ वर्षदेखि निरन्तर कृषि पेशामा क्रियाशील छन् । बिहान सबेरै आफ्ना पशु फर्ममा पुगेर भैंसीलाई दानापानी खुवाउने, सफाइ गर्ने लगायतका कार्यमा उनी दैनिक व्यस्त रहन्छन् । सुरुमा थोरै लगानीबाट सुरु गरिएको यो व्यवसाय हाल ५० लाख रुपैयाँभन्दा बढीको लगानीमा पुगिसकेको पौडेल बताउँछन् ।

शान्ति कृषि फर्म नामक आफ्नो फार्ममार्फत उनले पशुपालनसँगै घाँसखेतीलाई समेत जोड दिँदै आएका छन् । पशुलाई परिवारका सदस्यझैँ स्याहार गर्दा उत्पादनमा सकारात्मक प्रभाव परेको अनुभव उनी सुनाउँछन् । पशु विकास साखा, साना किसान सहकारी संस्था तथा नगरपालिकाबाट प्राप्त सहकार्यले व्यवसाय अझै सुदृढ भएको उनको भनाइ छ ।

पौडेललाई सम्मान गर्ने समारोहमा नगर प्रमुख चक्रपाणि अर्याल, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, उपप्रमुख रिताकुमारी चौधरी लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । कार्यक्रममा नगरपालिकाले अन्य विभिन्न कृषकहरूलाई पनि सम्मान गरेको छ, जसले कृषिको क्षेत्रमा उदाहरणीय योगदान दिएका छन् ।

उत्कृष्ट कृषकको सम्मान पाएपछि कृषक पौडेलले भनिरहेका थिए, “गाउँमै बसेर मेहनत गरे पनि पहिचान बन्न सक्छ भन्ने यो सम्मानले देखाइदिएको छ ।”

प्रतिक्रिया दिनुहोस्