
कपिलवस्तु, असार १० ।
कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ३४ करोड ७८ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट मंगलबार चन्द्रौटामा बसेको १७औँ नगरसभाबाट सार्वजनिक गरिएको हो।
नगर उपप्रमुख शिवकुमारी थारुले बजेट प्रस्तुत गर्दै यो बजेट विकासमुखी र जनताको आवश्यकता समेटिएको बताइन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, प्रशासन र युवा लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
शिक्षा, युवा तथा खेलकुदतर्फ नगरपालिकाले ८ करोड ५० लाख रुपैयाँ छुट्याएको छ भने वडा स्तरका योजनाहरूमा १० करोड ५० लाख विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रका लागि ४ करोड, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १२ करोड ७५ लाख र कृषि विकासतर्फ ८५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
नगरप्रमुख अजय थापाले नगरसभालाई सम्बोधन गर्दै अघिल्लो वर्षको योजनाहरू र उपलब्धिहरूको समीक्षा गर्दै यो वर्षको बजेटलाई जनमुखी, समावेशी र विकास–केन्द्रित रहेको बताए।