बाणगंगा नगरपालिका ‘पूर्ण संस्थागत प्रसुति सेवायुक्त दिगोपना पालिका’ घोषणा


पालिका पत्र

१३ असार २०८२, शुक्रबार २१:५४ मा प्रकाशित

कपिलवस्तुको बाणगंगा नगरपालिका अब ‘पूर्ण संस्थागत प्रसुति सेवायुक्त दिगोपना पालिका’ घोषणा गरिएको छ । शुक्रबार आयोजित एक औपचारिक समारोहका क्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले नगरपालिकाले दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेकाले यस्तो घोषणा गर्नुभएको हो ।

घोषणाक्रममा प्रमुख आचार्यले बाणगंगाले मातृ तथा नवजात शिशु मृत्यु दर घटाउनेतर्फ पुर्‍याएको योगदानको प्रशंसा गर्दै थप स्तरीय सेवा विस्तारको आवश्यकता औंल्याउनुभयो । उहाँले भौतिकभन्दा सामाजिक विकासमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै बाणगंगालाई राष्ट्रिय सूचकमा उत्कृष्ट पालिका देख्ने चाहना व्यक्त गर्नुभयो ।

नगरप्रमुख चक्रपाणी अर्यालले यो उपलब्धि सबै वडाहरू, स्वास्थ्य संस्थाहरू र समुदायको साझा प्रयासबाट सम्भव भएको बताउँदै अबको लक्ष्य सेवा गुणस्तर सुधारमा केन्द्रित रहने बताउनुभयो । साथै, उहाँले बाणगंगालाई पूर्ण सरसफाइयुक्त पालिका घोषणा गर्नका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

नगर उपप्रमुख रिता कुमारी चौधरीले महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि समुदायको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्दै नगर स्वास्थ्य क्षेत्रमा बाणगंगा अग्रणी बन्दै गएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले योजनाको प्रभावकारी कार्यान्वयन र अनुगमनकै कारण सेवा परिणाममा गुणात्मक सुधार आएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले चालु आर्थिक वर्षमा १,३३७ जना महिलाले संस्थागत प्रसुति सेवा लिएको जानकारी दिनुहुँदै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमका स्वागत मन्तव्य वडा नं. ७ का अध्यक्ष विष्णु गिरीले राख्नुभएको थियो भने संचालन स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेले गर्नुभएको थियो ।

यस अवसरमा नगर क्षेत्रका सबै ११ वटा वडाका स्वास्थ्य संस्थाहरूलाई ‘पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा दिगोपना प्रमाणपत्र’ प्रदान गरिएको थियो । कार्यक्रममा सुरक्षित मातृत्व र नवजात शिशु सेवामा बाणगंगाको प्रतिबद्धता स्पष्ट रूपमा झल्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्