
बाणगंगा, १३ असार । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित जनता माध्यमिक विद्यालयले कक्षा १० को एसईई नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालकै प्रथम स्थानमा परेको दाबी गरेको छ ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक भएको छ । विद्यालयका अनुसार यसपटकको नतिजामा सर्वोत्कृष्ट उपलब्धि हासिल गर्दै ९ जना विद्यार्थीले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ४.० प्राप्त गरेका छन् ।
विद्यालयका शिक्षक उज्ज्वल अधिकारीका अनुसार यस वर्ष एसईई दिएका १६९ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने उनीहरू सबैले ‘ए प्लस’ ग्रेडसहित सफलता प्राप्त गरेका छन् ।
जीपीए ४ ल्याउने विद्यार्थीहरूमा प्रविणा बस्याल, बिविका भुसाल, पृशिला थारु, प्रकृति बस्याल, अनुष्का खत्री, बिश्वास पौडेल, बिवेक खनाल, दिक्षा पौडेल र प्रज्ज्वल अधिकारी रहेका छन् ।
विद्यालयले बाँकी विद्यार्थीहरूको नतिजा संकलन गर्ने कार्य जारी रहेको जनाएको छ । विद्यालयको यो दावीको पुष्टि सम्बन्धित निकायबाट हुन बाँकी छ, तर प्रारम्भिक सूचनाका आधारमा यो उपलब्धिलाई ऐतिहासिक मानिएको छ ।