ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलको चम्किलो एसईई नतिजा: ४ विद्यार्थीले ल्याए पूर्ण ४.०० जिपिए

बाणगंगाका तीन विद्यालयबाट १६ विद्यार्थीको पूर्ण जिपिए उपलब्धि


पालिका पत्र

१४ असार २०८२, शनिबार १०:०३ मा प्रकाशित

बाणगंगा, १४ असार ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–२ राजपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हात पारेको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका २८ वटै विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यसमध्ये ४ जना विद्यार्थी — दिव्या गैरे, ग्रीष्मा गाहा, सम्झना न्यौपाने र सारा ज्ञवाली — ले उच्चतम ४.०० जिपिए हासिल गर्न सफल भएका छन्। बाँकी २१ जना विद्यार्थीले ३.६० देखि ३.९६ जिपिए र ३ जना विद्यार्थीले ३.२१ देखि ३.५९ जिपिए ल्याएका छन्।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र पाण्डेले यस उपलब्धिलाई “शिक्षा, अनुशासन र सामूहिक प्रतिबद्धताको उत्कृष्ट परिणाम” भन्दै विद्यालयसँग सम्बन्धित सम्पूर्ण अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी, व्यवस्थापन समिति र शुभेच्छुकहरूप्रति आभार प्रकट गरे।

विद्यालयका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरेले भने, “विद्यार्थीहरूको सफलताले शिक्षा क्षेत्रमा हामीले राखेको दीर्घकालीन अठोट र समर्पणलाई अझ सशक्त बनाएको छ।”

ताजा तथ्यांकअनुसार, कपिलवस्तु जिल्लाभरबाट हालसम्म १६ जना विद्यार्थीले पूर्ण ४.०० जिपिए प्राप्त गरेका छन्। तीमध्ये जनता मावि पिपराबाट ९ जना, बाणगंगा मावि लौगाईबाट ३ जना र ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलबाट ४ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्