अझै उकासिन सकेको छैन निजी क्षेत्र


पालिका पत्र

१७ असार २०८२, मंगलवार २०:५४ मा प्रकाशित


बाणगंगा, १७ असार ।
पछिल्ला दशकमा देशले भोगेका बहुआयामिक संकटका कारण निजी क्षेत्र अझै पनि पूर्ण रूपमा उकासिन नसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताएका छन् । उद्योग व्यापार संघ कपिलवस्तुको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्

सिडिओ तामाङका अनुसार २०७२ सालको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी, कोरोना महामारी, आर्थिक नीतिमा भएका अस्थिर र अव्यवस्थित परिवर्तन, र भारतसँगको खुला सिमानामा भइरहेको बढ्दो अवैध कारोबारजस्ता संकटहरूले व्यवसायीहरूलाई अझै असहज बनाइरहेका छन् । उनले भने, “२०७२ सालको भूकम्पपछि हामीले झेलेका राष्ट्रिय झट्काहरूको असर अझै अर्थतन्त्रमा देखिन्छ । निजी क्षेत्र ती प्रभावबाट पूर्णरूपमा उन्मुक्त हुन सकेको छैन ।”

तामाङले खुला सीमाबाट हुने अवैध निकासी–पैठारी रोक्न प्रशासन गम्भीर रहेको जनाउँदै निगरानी प्रणाली थप सुदृढ बनाउने र कानुनी संयन्त्रमार्फत कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्रको सशक्त भूमिका बिना समग्र स्थानीय अर्थतन्त्र गतिशील हुन नसक्ने उल्लेख गर्दै सरकारी संयन्त्र र निजी क्षेत्रबीच पारस्परिक विश्वास र सहकार्य अभिवृद्धिको आवश्यकता औंल्याए ।

कार्यक्रममा सहभागी उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूले प्रतिस्पर्धात्मक बजारको दबाब, कर प्रणालीको असहजता, कमजोर बजार सुरक्षा, र व्यवसायमैत्री वातावरणको अभावबारे धारणा राखे । उनीहरूले प्रशासनलाई सुरक्षा व्यवस्थामा थप सक्रियता देखाउन आग्रहसमेत गरे ।

कार्यक्रममा नेकपा एमाले बाणगंगा नगर अध्यक्ष सोमनाथ आर्यालले उद्योग व्यापार संघले व्यवसायीहरूको हकहितमा खेलेको भूमिकाको प्रशंसा गर्दै संघको अभियानलाई ‘दृढ र सकारात्मक’ भन्दै मूल्यांकन गरे । संघका संरक्षक टोपनारायण बेल्बासेले संघको तीन वर्षे यात्रा स्मरण गर्दै भावी योजना र कार्यदिशाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरे ।

कार्यक्रमका अध्यक्ष तथा संघका वर्तमान अध्यक्ष खिमान्द पौडेल (कोपिल)ले संघले आगामी मंसिर १७ गते ‘कपिलवस्तु महोत्सव २०८२’ आयोजना गर्ने निर्णय गरिसकेको जानकारी गराउँदै भने, “हामी महोत्सवलाई जिल्लामै नभई प्रदेशमै फरक ढंगले चिनिने गरि सञ्चालन गर्नेछौं ।” उनले सबै सरोकारवाला, संघ–संस्था र सञ्चारकर्मीहरूलाई महोत्सव सफल बनाउन सहकार्यको आह्वानसमेत गरे ।

कार्यक्रममा आर्थिक, औद्योगिक तथा व्यवसायिक पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएका पत्रकारहरू पिताम्बर घिमिरे, हरि आचार्य र लक्ष्मण सापकोटालाई सम्मान गरिएको थियो । संघका महासचिव बासुदेव खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, उद्योगी–व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्