
बाणगंगा, १९ असार । विश्वव्यापी रूपमा डेंगु संक्रमणले गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेका बेला कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा डेंगु रोगको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिको संयुक्त प्रयासमा अभियान सञ्चालन गरिएको छ । बुधबार वडा नं. ८ को लौगाई क्षेत्रमा आयोजित विशेष कार्यक्रममार्फत डेंगु फैलाउने लामखुट्टेका लार्भा तथा प्युपा नष्ट गर्ने कार्य गरिएको हो ।
स्वास्थ्य कार्यालय कपिलवस्तुको समन्वयमा गरिएको अभियानअन्तर्गत टोलीले घरघरमै पुगेर पानी जम्ने ठाउँहरूको अनुगमन गरी लार्भा खोज्ने, नष्ट गर्ने र जनचेतना दिने कार्यसमेत गरेको थियो । स्वास्थ्य कार्यालय तौलिहवाका मलेरिया इञ्चार्ज रत्नलाल शर्माको सहजीकरणमा सञ्चालन भएको अभियानमा स्थानीय स्वास्थ्य संस्थाका कर्मचारी, जनप्रतिनिधि, वडा कार्यालयका पदाधिकारी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य संस्था व्यवस्थापन समिति उपाध्यक्ष जुनादेवी थारु, कार्यपालिका सदस्य शारदा परियार, वडा सदस्यहरू विश्वास जि.सी. र शैलेन्द्र बेल्बासे, मोतिपुर स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरे, वडा सचिव गोविन्द आचार्य लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपालमा सन् २००४ मा पहिलो पटक डेँगुको पहिचान भएको भए पनि पछिल्ला केही वर्षदेखि यसको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ७६ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ भने हालसम्म ३ हजार ५ सय ३० जनामा संक्रमण देखिएको छ।
विशेष गरी जुनदेखि डिसेम्बरसम्म बढी सक्रिय हुने यो रोगको रोकथामका लागि यस्ता समुदायस्तरका अभियानहरू प्रभावकारी हुने विश्वास जनाइएको छ । स्वास्थ्यकर्मी र स्थानीय तहबीचको सहकार्यले मात्र डेंगु नियन्त्रण सम्भव हुने बताउँदै सहभागीहरूले निरन्तर प्रयासको खाँचो औंल्याएका छन् ।