
कपिलवस्तु, असार १८ ।
बाणगंगा नगरपालिकाले लुम्बिनी प्रदेशकै उत्कृष्ट पालिका बन्ने लक्ष्यसहित योजनाबद्ध रुपमा अगाडि बढिरहेको जनाएको छ । नगर प्रमुख चक्रपाणि अर्यालले विहीबार नगरको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अब बाणगंगाको प्रतिस्पर्धा जिल्लाभित्र नभई सिंगो लुम्बिनी प्रदेशकै १०९ वटा पालिकासँग रहेको बताउनुभयो ।
“हामी समग्र कपिलवस्तुको नेतृत्व गर्दै विकास निर्माणमा अग्रणी बन्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “भौतिक विकाससँगै सामाजिक र आर्थिक विकासलाई समेत सँगसँगै अघि बढाएका छौँ ।”
उहाँका अनुसार प्रदेश सरकारले स्थानीय तहको वर्गीकरणका लागि विभिन्न सूचकहरूको आधार तयार गरिरहेको छ, जसमा बाणगंगाले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, महिला, बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा उदाहरणीय काम गरिसकेको छ ।
एसईई २०८१ मा ४.०० जिपिएसहित १६ जना विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै प्रमुख अर्यालले नगरभित्रका विद्यालयहरूको गुणस्तरीय शिक्षाले उच्च परिणाम दिन थालेको बताउनुभयो । साथै, नगरले सञ्चालन गरिरहेको पिपरा अस्पताललाई अत्याधुनिक बनाउने योजना अनुसार काम अघि बढिरहेको जानकारी पनि दिनुभयो ।
उपप्रमुख रिता कुमारी चौधरीले सार्वजनिक सुनुवाईमा बोल्दै आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधारसँगै सामाजिक विकासलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । उहाँले नगरवासीको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनप्रति सन्तोष व्यक्त गर्दै नागरिक सुझावलाई पालिकाले प्राथमिकतामा राखेर योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले हालसम्म नगरले ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरिसकेको जानकारी दिनुभयो । कार्यक्रम पत्रकार महासंघका सह सचिव पिताम्बर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुखसहित सबै ११ वडाका अध्यक्षहरू, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसाल, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसी, उद्योगी–व्यवसायी, कर्मचारी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।