
गुल्मी — गुल्मीको धुर्कोट गाउँपालिका देशकै उदाहरणीय कार्य गर्दै पहिलो पटक बालश्रम तथा सडक बालबालिका मुक्त गाउँपालिका घोषणा गर्न सफल भएको छ। “समृद्ध धुर्कोट, हाम्रो शान” भन्ने नारासहित गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनको चौथो बैठकमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बुधबार औपचारिक रूपमा यो घोषणा गर्नुभएको हो।
यसै बैठकमा आर्थिक वर्ष २०८१/८२ को न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरिनुका साथै आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत सर्वसम्मतिले पारित गरिएको छ।
सभामा अध्यक्ष पोखरेलले संघीय सरकारद्वारा सञ्चालित केही आयोजना अलपत्र परे पनि गाउँपालिकाले सञ्चालन गरेका अधिकांश योजना सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिनुभयो। उहाँले लक्षित वर्ग तथा कृषि क्षेत्रमा बढी बजेट विनियोजन गरिएको जानकारी दिँदै वन्यजन्तु नियन्त्रणका लागि थप कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभा सदस्यहरूले विभिन्न मुद्दा उठाउँदै विकासका लागि सुझावहरू दिएका थिए। सदस्य चक्रबहादुर घर्तीले धुर्कोटलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने पहल भइरहेको जानकारी दिँदै मोटरबाटो विस्तारमा जोड दिनुभयो। सदस्य माधव पोखरेलले मोटरबाटो सुस्त गतिमा निर्माण भइरहेको र कृषकहरू वन्यजन्तुको आक्रमणबाट आक्रान्त भएको गुनासो गर्नुभयो।
त्यस्तै टोपलाल पराजुली, सीता सुनार, तारा खनाल, कोषबहादुर थापा, प्रेमबहादुर मुखिया लगायतका सदस्यहरूले लक्षित वर्गको बजेट कटौती, बाँदरको समस्या, मदिरा नियन्त्रण, बेरुजु शून्य लगायत विषयमा धारणा राखे। सदस्य विमला सुनार पाध्यवती र कृष्णबहादुर नेपालीले बजेट वितरण र चेतना अभिवृद्धि विषयमा धारणा राखे।
उपाध्यक्ष सीता गिरीले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै गाउँपालिका अगाडि बढिरहेको बताइन्। गाउँसभा बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, तथा वार्षिक बजेट तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ।