पिपरा अस्पतालमा भजाइनल हिष्टेक्टोमीको सफल शल्यक्रिया


पालिका पत्र

१९ असार २०८२, बिहीबार २०:४९ मा प्रकाशित

कपिलवस्तु, असार १९ । बाणगंगा नगरपालिका–२, पिपरास्थित पिपरा अस्पतालले एक थप चिकित्सकीय उपलब्धि हासिल गरेको छ । अस्पतालमा पहिलो पटक भजाइनल हिष्टेक्टोमी (Vaginal Hysterectomy with Pelvic Floor Repair) को सफल शल्यक्रिया सम्पन्न भएको हो । अर्थात महिलाहरुको आङ खस्ने समस्याको सफल शल्यक्रिया सम्पन्न भएको हो

वाणगंगा नगरपालिका–९ की एक महिलाको विहीबार अप्रेसन गरिएको हो । उक्त शल्यक्रिया महिला तथा प्रसूति रोग विशेषज्ञ डा. जागृति खनाल र एनेस्थेसिया विशेषज्ञ डा. सुमन श्रेष्ठको टिमले सफलता पूर्वक सम्पन्न गरेका हुन् । यो अप्रेसन वाणगंगा नगरपालिकाको सहयोगमा निःशुल्क रूपमा गरिएको हो ।

बिरामीको अवस्था अहिले सामान्य रहेको र उनी क्रमिक सुधारतर्फ रहेको जानकारी अस्पताल प्रमुख डा. सरस्वती भट्टराईले दिनुभयो ।

यसअघि पिपरा अस्पतालमा यस्ता जटिल शल्यक्रिया नभएकोमा, पहिलो सफल अप्रेसनबाट स्थानीयवासीहरू उत्साहित भएका छन् । वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले यस्ता जनमैत्री सेवा आगामी दिनमा पनि थप गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्