लुम्बिनी सांस्कृतिक नगरपालिकाको १ अर्ब ५४ करोडको बजेट सार्वजनिक


पालिका पत्र

२१ असार २०८२, शनिबार ०६:५८ मा प्रकाशित

लुम्बिनी, २१ असार
लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न १५औँ नगरसभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख कल्पना हरिजनले बजेट सार्वजनिक गरिन् ।

कृषि, शिक्षा र पूर्वाधार विकासमा प्राथमिकता दिइने अठोटका साथ बजेट ल्याइएको हो । उपप्रमुख हरिजनका अनुसार आगामी आर्थिक वर्षको लागि कुल १ अर्ब ५४ करोड ५० लाख ५९ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ । उक्त बजेटमा संघीय सरकारबाट समानिकरण अनुदान अन्तर्गत १७ करोड ३० लाख, राजस्व बाँडफाँडबाट १४ करोड ७४ लाख, सशर्त अनुदानको रुपमा ३६ करोड ४२ लाख ९६ हजार र एसियाली विकास बैंकबाट ५३ करोड ६९ लाख ४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै समपूरक अनुदान अन्तर्गत ६८ लाख रुपैयाँ प्राप्त हुनेछ ।

प्रदेश सरकारतर्फ सशर्त अनुदानमा १ करोड ३० लाख, समानिकरण अनुदानमा १ करोड २० लाख ७२ हजार, राजस्व बाँडफाँड अन्तर्गत १ करोड ३६ लाख ७२ हजार र समपूरक अनुदानमा १ करोड २० लाख प्राप्त हुने अनुमान गरिएको छ । नगर विकास कोषबाट १० करोड १३ लाख ४ हजार, सडक बोर्डबाट ४० लाख, आन्तरिक राजस्वबाट ५ करोड, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४ करोड ७० लाख र बचततर्फ ६ करोड ३६ लाख ११ हजार रकम प्राप्त हुने उल्लेख छ ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले सबैलाई बजेट कार्यान्वयनमा एकजुट भएर लाग्न आग्रह गरिन् । नीति तथा कार्यक्रम र बजेट नगरसभाले सर्वसम्मतिले पारित गरेको जानकारी आर्थिक प्रशासन शाखा प्रमुख रामचन्द्र अर्यालले दिए ।

सभाको अध्यक्षता नगरप्रमुख सजरुद्धिन मुसलमानले गरेका थिए । कार्यक्रमको सञ्चालन समन्वयकर्ता तुलसीराम लामिछानेले गरेका थिए भने नगर प्रवक्ता इनामुल्ला फकिरले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्