मानव–वन्यजन्तु द्वन्द्व विषयक वक्तृत्वकला प्रतियोगितामा प्रतिक्षा भण्डारी प्रथम


पालिका पत्र

२१ असार २०८२, शनिबार १९:२२ मा प्रकाशित

बाणगंगा, २१ असार । बाणगंगा नगरपालिका–८ मा ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन’ विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा बाणगंगा साहित्यिक प्रतिष्ठानको समन्वयमा आयोजित कार्यक्रम शनिबार मालिका मन्दिरको सभाहलमा गरिएको हो ।

प्रतियोगितामा बाणगंगा नगर क्षेत्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वका कारण, समाधान र सहअस्तित्वका उपायहरूबारे प्रभावशाली अभिव्यक्ति प्रस्तुत गरेका थिए । वक्ताहरूले जङ्गल मिचाइ, मानव लापरवाही, खाद्य संकट, र तीव्र सहरीकरणलाई द्वन्द्वका मुख्य कारणका रूपमा औँल्याउँदै समुदायस्तरमै जनचेतना अभिवृद्धिको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

प्रतियोगितामा बाणगंगा माध्यमिक विद्यालयकी प्रतिक्षा भण्डारी प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् । होराइजन स्कूलकी परिसा गौतम दोस्रो भइन् भने तेस्रो स्थानमा त्यही विद्यालयका आशिष पपिरयार रहे। उनीहरूले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र पाए ।

त्यस्तै, ज्ञानपुञ्जका मिसन आचार्य र कपिलवस्तु विद्या मन्दिरकी श्रद्धा घिमिरेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। उनीहरूलाई जनही २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिमबहादुर जि.सी.ले वातावरण संरक्षण र जैविक विविधता जोगाउन सामूहिक पहल आवश्यक रहेको बताए। उनले विद्यार्थीहरूमा यस्ता विषयप्रतिको चासो उत्साहजनक हुन आवश्यक रहेको बताए । उनले भने, “यसले भविष्यमा सचेत र उत्तरदायी नागरिक तयार पार्न सघाउँछ ।”

विशिष्ट अतिथिका रूपमा बोल्दै बाणगंगा–८ का कार्यवाहक अध्यक्ष शैलेन्द्र बेल्बासेले वातावरणीय द्वन्द्व न्यूनीकरणमा समुदाय र विद्यालयको भूमिकालाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

त्यसैगरी, मोतिपुर डिभिजन वन कार्यालयका प्रमुख एजाज आलमले वन्यजन्तु संरक्षणका लागि वैज्ञानिक उपायहरू अपनाउनुका साथै स्थानीय तहसँग सहकार्य गरी दीगो समाधान खोज्नुपर्ने बताए । “वन्यजन्तुलाई दोष दिने होइन, उनीहरूको बसोबास सुरक्षित गर्न हामीले पनि जिम्मेवारी लिनुपर्छ,” उनले जोड दिए ।

नव प्रभात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराज रेग्मीले मानव र वन्यजन्तुबीचको सम्बन्ध विग्रँदै जानु चिन्ताको विषय भएको बताए । उनले भने, “वन हाम्रो जीवन र भविष्यसँग प्रत्यक्ष जोडिएको सम्पत्ति हो । यसको संरक्षण सबैको साझा कर्तव्य हो । विद्यार्थीहरूलाई यस्ता कार्यक्रममार्फत सचेत तुल्याउनु दीर्घकालीन दृष्टिले उपयोगी हुन्छ ।”

कार्यक्रम बाणगंगा साहित्यिक प्रतिष्ठानका सचिव हुमनाथ पौडेलले सञ्चालन गरेका थिए । निर्णायक मण्डलका अनुसार सहभागी वक्ताहरूको प्रस्तुति, भाषिक सशक्तता र विषयप्रतिको बुझाइ प्रशंसनीय रहेको थियो ।

आयोजक संस्थाका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे सोच्न उत्प्रेरित गर्नु रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्