मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगितामा प्रतिक्षा भण्डारी प्रथम


पालिका पत्र

२१ असार २०८२, शनिबार १९:२६ मा प्रकाशित

बाणगंगा, २१ असार । बाणगंगा नगरपालिका–८ मा ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन’ विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा बाणगंगा साहित्यिक प्रतिष्ठानको समन्वयमा आयोजित कार्यक्रम शनिबार मालिका मन्दिरको सभाहलमा गरिएको हो ।

प्रतियोगितामा बाणगंगा नगर क्षेत्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वका कारण, समाधान र सहअस्तित्वका उपायहरूबारे प्रभावशाली अभिव्यक्ति प्रस्तुत गरेका थिए । वक्ताहरूले जङ्गल मिचाइ, मानव लापरवाही, खाद्य संकट, र तीव्र सहरीकरणलाई द्वन्द्वका मुख्य कारणका रूपमा औँल्याउँदै समुदायस्तरमै जनचेतना अभिवृद्धिको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

प्रतियोगितामा बाणगङ्गा मा.वि. लौगाईकि प्रतिक्षा भण्डारी प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् । होराइजन स्कूलकी परिसा गौतम दोस्रो भइन् भने तेस्रो स्थानमा त्यही विद्यालयका आशिष पपिरयार रहे । उनीहरूले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र पाए ।

त्यस्तै, ज्ञानपुञ्जका मिसन आचार्य र कपिलवस्तु विद्या मन्दिरकी श्रद्धा घिमिरेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। उनीहरूलाई जनही २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिमबहादुर जि.सी.ले वातावरण संरक्षण र जैविक विविधता जोगाउन सामूहिक पहल आवश्यक रहेको बताए । उनले विद्यार्थीहरूमा यस्ता विषयप्रतिको चासो उत्साहजनक हुन आवश्यक रहेको बताए । उनले भने, “यसले भविष्यमा सचेत र उत्तरदायी नागरिक तयार पार्न सघाउँछ।” विशिष्ट अतिथिका रूपमा बोल्दै बाणगंगा–८ का कार्यवाहक अध्यक्ष शैलेन्द्र बेल्बासेले वातावरणीय द्वन्द्व न्यूनीकरणमा समुदाय र विद्यालयको भूमिकालाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

त्यसैगरी, मोतिपुर डिभिजन वन कार्यालयका प्रमुख एजाज आलमले वन्यजन्तु संरक्षणका लागि वैज्ञानिक उपायहरू अपनाउनुका साथै स्थानीय तहसँग सहकार्य गरी दीगो समाधान खोज्नुपर्ने बताए । “वन्यजन्तुलाई दोष दिने होइन, उनीहरूको बसोबास सुरक्षित गर्न हामीले पनि जिम्मेवारी लिनुपर्छ,” उनले जोड दिए ।

नव प्रभात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराज रेग्मीले मानव र वन्यजन्तुबीचको सम्बन्ध विग्रँदै जानु चिन्ताको विषय भएको बताए । उनले भने, “वन हाम्रो जीवन र भविष्यसँग प्रत्यक्ष जोडिएको सम्पत्ति हो । यसको संरक्षण सबैको साझा कर्तव्य हो। विद्यार्थीहरूलाई यस्ता कार्यक्रममार्फत सचेत तुल्याउनु दीर्घकालीन दृष्टिले उपयोगी हुन्छ ।”

कार्यक्रम बाणगंगा साहित्यिक प्रतिष्ठानका सचिव हुमनाथ पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मित्रलाल कडेलले स्वागत मन्तब्य राखेका थिए । निर्णायक मण्डलका अनुसार सहभागी वक्ताहरूको प्रस्तुति, भाषिक सशक्तता र विषयप्रतिको बुझाइ प्रशंसनीय रहेको थियो । आयोजक संस्थाका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे सोच्न उत्प्रेरित गर्नु रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्