
बाणगंगा, असार २१ ।
बाणगंगा नगरपालिकाको आयोजना तथा वडा नम्बर ३ को समन्वयमा शनिबार एकदिने बहु सेवा शिविर सम्पन्न भएको छ । वडा नं. ३ स्थित राजापानी सामुदायिक वनको प्राङ्गणमा आयोजित शिविरमा नगरपालिकाका विभिन्न शाखाबाट नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गरिएको थियो । शिविरमा पशु सेवा, कृषि, स्वास्थ्य, आयुर्वेद, सामाजिक सुरक्षा, रोजगार परामर्श, नागरिकता तथा परिचयपत्र सम्बन्धी सेवा, फर्म दर्ता र योजना परामर्शसमेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
एकै दिनमा सम्पन्न उक्त शिविरबाट कुल ४०४ जना नागरिक लाभान्वित भएका छन् । शिविरमा सबैभन्दा बढी १५५ जनाले पशु सेवा सम्बन्धी सेवा प्राप्त गरे । त्यस्तै, १२७ जनाले आयुर्वेद सेवा, १२३ जनाले स्वास्थ्य सेवा, ५२ जनाले कृषि सेवा, ३० जनाले सामाजिक सुरक्षा तथा रोजगार परामर्श सेवा, ७ जनाले फर्म तथा व्यवसाय दर्ता–नविकरण सेवा तथा नागरिकता र परिचयपत्र सेवा, र ३ जनाले योजना परामर्श सेवा लिएका थिए ।
कार्यक्रममा नगरप्रमुख चक्रपाणि अर्यालले सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको बताए। “यस्ता कार्यक्रमले नागरिकको विश्वास बढाउँछ,” उनले भने, “आगामी दिनमा यस्ता सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानेछौं ।”
उपप्रमुख रिता चौधरीले नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रदान गर्न सक्नु सकारात्मक अभ्यास भएको बताइन्। उनले भनिन्, “शिविरले हामीलाई जनताको वास्तविक आवश्यकता बुझ्न र नीति निर्माणमा प्राथमिकता तय गर्न समेत सहयोग पुर्याउँछ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले सेवा प्रवाहमा पारदर्शिता र पहुँच विस्तारको दृष्टिले शिविर प्रभावकारी भएको बताए । “स्थानीय सरकार नागरिकसँग नजिक हुन यस्ता बहुआयामिक शिविरहरू महत्वपूर्ण माध्यम हुन्,” उनले भने । स्थानीयको उत्साहजनक सहभागिता रहेको शिविरमा विभिन्न शाखाका प्राविधिक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।