५० किसानलाई दुधालु भैंसी हस्तान्तरण, दुग्ध उत्पादनतर्फ आत्मनिर्भर हुँदै बाणगंगा


पालिका पत्र

२१ असार २०८२, शनिबार १९:५९ मा प्रकाशित

बाणगंगा, असार २१ ।
बाणगंगा नगरपालिकाले दुग्ध उत्पादक किसानहरूलाई लक्षित गर्दै साढे २२ लाख रुपैयाँबराबरको अनुदान प्रदान गरेको छ।नगरपालिकाका प्रवक्ता विष्णु प्रसाद पौडेलका अनुसार शनिबार वडा नं. २ स्थित कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध ५० जना किसानलाई प्रत्यक्ष रूपमा अनुदान दिइएको हो।

कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा दुधालु भैंसी, गोठ सुधार, चार मेसिन, काउ म्याट र मिल्क क्यान उपलब्ध गराइएको छ। प्रत्येक किसानलाई एकरएक वटा भैंसी वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख चक्रपाणी अर्यालले सो कार्यक्रम सहकारी संस्थामार्फत लागत साझेदारीको आधारमा कार्यान्वयन गरिएको जानकारी दिए। “नगरपालिकाको अनुदान र किसानको लगानी समायोजन गरेर यो कार्यक्रम अघि बढाइएको हो,” उनले भने, “व्यावसायिक पशुपालनमा कृषकलाई आकर्षित गर्नु र बाणगंगालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउनु यस कार्यक्रमको उद्देश्य हो।” नगरप्रमुख अर्यालले पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले यस्ता कार्यक्रमलाई अझ विस्तार गरिने बताए।

कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरीले युवालाई वैदेशिक रोजगारीतर्फ भन्दा कृषि र पशुपालनतर्फ फर्काउन यस्ता योजनाले भूमिका खेल्ने बताइन्। “गाउँमै सम्भावना छ भन्ने सन्देश दिनका लागि यस्तो कार्यक्रम प्रभावकारी हुन्छ,” उनले भनिन्।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले उत्पादनपछि बजारीकरणको चरणसम्म पालिकाले साथ दिने प्रतिबद्धता जनाए। “कृषकको उत्पादन बजारीकरणमा समस्या नहोस् भनेर पालिकाले नीति र कार्यक्रममै त्यसलाई समेट्दै आएको छ,” उनले स्पष्ट पारे। नगरपालिकाले पछिल्लो समय कृषिलाई प्राथमिकता दिँदै विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्