
बाणगंगा, २३ असार । कपिलवस्तुको बाणगंगा नगरपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर पालिका घोषणा गरिएको छ । सोमबार एक विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी र जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले नगरप्रमुख चक्रपाणी अर्याल र उपप्रमुख रिता कुमारी चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै बाणगंगालाई दुधमा आत्मनिर्भर पालिका घोषित गरेका हुन् ।
नगरप्रमुख अर्यालका अनुसार बाणगंगामा वार्षिक ८८ लाख ९७४ लिटर दुधको माग रहेको छ भने उत्पादन ९१ लाख २५ हजार ४४५ लिटर पुगेको छ । यसरी नगरमा ३ लाख २४ हजार लिटर बढी दुध उत्पादन भइरहेको छ, जसको केही हिस्सा जिल्लाबाहिर समेत निर्यात हुने गरेको जानकारी उनले दिए ।
प्रदेश सांसद पन्थीले बाणगंगाले विगत १० वर्षमा पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य र कृषिमा उल्लेखनीय प्रगति गरेको बताउँदै अब अन्य पालिकालाई पनि साथमा लिएर समग्र जिल्लाको विकास गर्नुपर्ने धारणा व्यक्त गरे । साथै उनले जैविक मल उत्पादनमा पनि आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्याए ।
पशु शाखा प्रमुख राजकुमार तिवारीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नगरमा ८५ लाख २४ हजार लिटर दुध उत्पादन भएको थियो भने २०८०/८१ मा उक्त परिमाण ९१ लाख नाघेको छ । प्रति व्यक्ति वार्षिक ९१ लिटर दुधको आवश्यकताको तुलनामा हाल ९४.३५ लिटर उपलब्ध रहेको छ ।
यसैबीच, बाणगंगाको वडा नं. २ लाई पूर्ण सरसफाइयुक्त तथा पूर्ण पोषणमैत्री वडा घोषणा गरिएको छ । त्यस्तै वडा नं. ५ र ८ लाई पोषणमैत्री वडा दिगोपना तथा पिपरा, गजेहडा र भलवाड स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषित गरिएको छ ।