महिलालाई सिपमूलक तालिम, स्वरोजगारमा टेवा


पालिका पत्र

२५ असार २०८२, बुधबार ०७:०१ मा प्रकाशित

बाणगंगा, असार २५ –
बाणगंगा नगरपालिका–२ स्थित मुना सामुदायिक वन उपभोक्ता समूहले एक हप्ते सिपमूलक तालिम सम्पन्न गरेको छ । वन उपभोक्ता समूहले आफ्नै कार्यालय भवनमा महिलाहरूलाई लक्षित गर्दै डल तथा कुसन बनाउने सीप प्रदान गर्न तालिम सञ्चालन गरेको हो ।

असार १६ गतेदेखि सुरु भएको तालिम असार २२ गतेसम्म सञ्चालन भएको थियो । तालिममा समूह अन्तर्गतका करिब २५ जना महिला सहभागी बनेका थिए । तालिमको उद्देश्य स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउनु रहेको समूहले जनाएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले महिलाहरूको सीप विकासमार्फत आत्मनिर्भरता हासिल गर्न सकिने भन्दै यस्ता कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा प्राप्त सीपलाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावनालाई सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

त्यस्तै, सब डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्राले सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणका अतिरिक्त समुदाय विकासतर्फ पनि सक्रियता देखाउनु उल्लेखनीय रहेको बताउनुभयो । उहाँले महिलाहरूलाई स्वरोजगारमार्फत समाजमा आर्थिक हैसियत बलियो बनाउने यस्ता तालिमहरू प्रभावकारी हुने धारणा राख्नुभयो ।

उक्त तालिममा सहभागी महिलाहरूलाई घरमै बसेर आम्दानी गर्न सकिने सीपहरू प्रदान गरिएको थियो । तालिममा डल तथा कुसन बनाउने कार्यगत अभ्यास गराइएको थियो । आयोजक संस्था मुना सामुदायिक वन उपभोक्ता समूहले महिलाहरूको सशक्तीकरण तथा स्वरोजगार प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्