बेसिक तालिमपछि एडभान्स लेभल सुरु, महिलाको आत्मनिर्भरतातर्फ पाइला


पालिका पत्र

२५ असार २०८२, बुधबार ०७:२० मा प्रकाशित

कपिलवस्तु, २५ असार ।
बाणगंगा नगरपालिका–८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा १० दिने आधारभूत (बेसिक लेभल) जुत्ता–चप्पल बनाउने सिपमूलक तालिम सम्पन्न गरिएको छ। अति विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी सञ्चालित उक्त तालिम सम्पन्न भएसँगै सहभागीहरूको मागअनुसार एडभान्स लेभल तालिम सुरु गरिएको वन समूहले जनाएको छ।

नव प्रभात सामुदायिक वनको कार्यालयमा १० दिन सम्म सञ्चालन भएको उक्त तालिममा वन उपभोक्ता भित्रका पाँच टोलका ५० जना महिलाहरू सहभागी थिए । हरेक टोलबाट १० जनाका दरले सहभागी छनोट गरिएको थियो । तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

तालिम समापन समारोहमा बोल्दै जिल्ला वन अधिकृत ईश्वरी प्रसाद पौडेलले सामुदायिक वनको सीमित स्रोतसाधनबाट समुदायको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरू प्रेरणादायी रहेको बताए । “सीप छ भने स्वरोजगार सम्भव छ, आत्मनिर्भरता हासिल गर्न यस्ता तालिमको खाँचो अझै छ,” पौडेलले भने ।

त्यस्तै वडा नं. ८ का कार्यवाहक वडा अध्यक्ष शैलेन्द्र बेल्वासेले महिलाहरूको आत्मबल र सीपमा आधारित विकासका लागि नगरपालिकाले आगामी दिनमा अझ धेरै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । “जसले काम गर्छ, उसले परिवर्तन ल्याउँछ,” भन्दै उनले सहभागीहरूलाई निरन्तर अभ्यास र व्यावसायिक सोच राख्न आग्रह गरे।

सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अहमद अन्सारीले सामुदायिक वन समूहले वन संरक्षणसँगै सामाजिक विकासमा देखाएको सक्रियता उदाहरणीय रहेको बताए। “सीप विकासमार्फत आय आर्जनका अवसरहरू सिर्जना गर्दै वन संरक्षणमा समुदायको सम्बन्ध अझ प्रगाढ बन्नेछ,” अन्सारीले बताए।

वन समूहका अध्यक्ष डिल्लीराज रेग्मीले तालिमको उद्देश्य र यसको दीर्घकालीन प्रभावबारे धारणा राख्दै तालिमले महिलाहरूलाई आर्थिकरूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे। “बेरोजगारी कम गर्न, आय बढाउन र आत्मनिर्भरता कायम गर्न साना प्रयासहरूले ठूलो रूप लिन सक्छ,” अध्यक्ष रेग्मीले भने।

समापन कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक र सहायक प्रशिक्षकलाई सम्मानपत्र प्रदान गरिएको थियो भने सहभागी ५० जनालाई प्रमाणपत्र वितरण गरिएको थियो।

तालिममा प्रतिमा महिला सीप विकास केन्द्रको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रमको सञ्चालन सामुदायिक वन समूहकी सचिव सिता भुसालले गरेकी थिइन् भने उपाध्यक्ष मित्रलाल कंडेलले स्वागत मन्तव्य राखेका थिए।

वन समूहले भविष्यमा एडभान्स लेभल तालिमका अतिरिक्त उत्पादनलाई बजारसम्म पुर्‍याउने रणनीति निर्माण गर्दै जाने समेत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्