एसईई टपर्सलाई प्रविधिमैत्री सिकाइका लागि ट्याब वितरण


पालिका पत्र

२८ असार २०८२, शनिबार ०६:३३ मा प्रकाशित

बाणगंगा, २८ असार। दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटिभद्वारा बाणगंगा नगरका १६ जना एसईई परीक्षामा ४.०० जिपिए प्राप्त गर्ने छात्र–छात्रालाई विशेष सम्मान गरिएको छ । तीमध्ये जनता माध्यमिक विद्यालयबाट ९ जना, ज्ञानपुञ्ज बोर्डिङ स्कुलबाट ४ जना र बाणगंगा मावि लौगाईबाट ३ जना विद्यार्थी सम्मानित भएका हुन् ।

सम्मान कार्यक्रम जनता मावि पिपराको सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरूका अभिभावक, शिक्षक, समाजसेवी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो ।

संस्थाका महासचिव आशिष शर्माले सबै विद्यार्थीहरूलाई ट्याब र प्रमाणपत्र प्रदान गरी सम्मान गरे । शर्माले विद्यार्थीहरूको प्रविधि सँगको पहुँच बढाउँदै सिकाइलाई सहज, प्रभावकारी र समसामयिक बनाउने उद्देश्यले ट्याब वितरण गरिएको जानकारी दिए ।

उनले केवल किताबी ज्ञान होइन, जीवनोपयोगी सीप र व्यवहारिक दक्षता हासिल गर्दै स्मार्ट शिक्षामा अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गरे । शिक्षामा प्रविधिको प्रयोगले गुणस्तर सुधारमा टेवा पुर्‍याउने उनको भनाइ थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिका शिक्षा शाखाका प्रमुख खिमबहादुर जिसी, जनता माविका प्रधानाध्यापक रमेश पन्थी, ज्ञानपुञ्ज बोर्डिङका सुरेन्द्र पाण्डे, र लौगाई माविका कुलराज पौडेललगायतले बाणगंगा नगरलाई प्रदेशस्तरीय शैक्षिक केन्द्रका रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष मिथिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक संस्थाले यस्ता सम्मान कार्यक्रमहरूले शैक्षिक चेतना अभिवृद्धिमा मद्दत पुर्‍याउने र विद्यार्थीहरूलाई उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्