
कपिलवस्तुको बाणगंगा नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जीपीए हासिल गर्ने १६ जना मेधावी छात्र–छात्रालाई एक भव्य समारोहबीच नगदसहित सम्मान गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा प्रत्येक विद्यार्थीलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले बुटवलका विद्यालयभन्दा बाणगंगाका विद्यालयहरु गुणस्तरीय शिक्षा, पूर्वाधार, जनशक्ति र नतिजाको हिसाबले अब्बल बन्दै गएको बताउनुभयो । उहाँले बाणगंगालाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्यसहित विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धाको आवश्यकता औंल्याउनुभयो ।
उपप्रमुख रिता कुमारी चौधरीले बुटवल र काठमाडौं जस्ता सहरमा छोराछोरी पढाउनुपर्ने बाध्यता अन्त्य भएकोमा सन्तोष व्यक्त गर्दै बाणगंगाको शैक्षिक प्रगति उल्लेखनीय रहेको बताउनुभयो । एसईईको नतिजाले नै बाणगंगाका विद्यालयहरू गुणस्तरीय शिक्षाको केन्द्र बन्न सक्ने प्रमाणित गरेको उहाँको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले ४.०० जीपीए प्राविधिक उपलब्धि भए पनि विद्यार्थीले आत्मबोधका साथ भावी अध्ययनको योजना बनाउनु पर्ने सुझाव दिनुभयो । उहाँले यस्ता सम्मान कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले बाणगंगा नगरपालिका शैक्षिक हबको रुपमा स्थापित भइसकेको र अब प्रदेश स्तरीय हबको आधार निर्माण हुँदै गएको धारणा व्यक्त गरे ।
त्यस्तैगरी, नगरपालिकाले “विलिभ बाणगंगा, ब्राण्ड बाणगंगा” अभियान अन्तरगत स्थानीयस्तरमै दुध उत्पादनमा आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण योगदान दिने सहकारी संस्थाहरू र व्यक्तित्वहरूलाई पनि प्रशंसापत्रसहित सम्मान गरेको छ । नगरले स्थानीय उत्पादनमा आत्मनिर्भरता हासिल गर्न लागिपरेका साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।