मधुवन सामुदायिक वनद्वारा विपन्न वर्गका लागि बहुआयामिक सामग्री वितरण


पालिका पत्र

२८ असार २०८२, शनिबार १९:२० मा प्रकाशित

बाणगंगा, २८ असार । मधुवन सामुदायिक वन उपभोक्ता समूहले विपन्न वर्गका परिवारहरूलाई र उपभोक्ता लक्षित गर्दै बहुआयामिक सामग्री वितरण गरेको छ। शनिवार वनकै सभा हलमा सम्पन्न कार्यक्रममा स्वास्थ्य बीमा, घरको चापी हस्तान्तरण, कृषि औजार, वाद्य वादन सामग्री तथा खेलकुद सामग्री वितरण गरिएको हो ।

कार्यक्रमको उद्देश्य सामाजिक रूपान्तरण, आर्थिक सशक्तिकरण र समुदायमा आत्मनिर्भरता बढाउने रहेको समुहले जनाएको छ । सामुदायिक वनले आफ्ना उपभोक्ताहरूको जीवनस्तर उकास्न र सामाजिक सुरक्षा सञ्जालमा जोड्न विविध कार्यक्रमहरू अघि सारेको हो ।

कार्यक्रममा वनका अध्यक्ष शान्त विक्रम पौडेलले गत आर्थिक वर्षमा सामुदायिक वनले सञ्चालन गरेका वातावरण संरक्षण, स्रोत व्यवस्थापन र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको विवरण प्रस्तुत गरेका थिए ।

बाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले सामुदायिक वनको सक्रियता, समर्पण र विपन्न वर्गप्रतिको प्रतिबद्धतालाई प्रशंसा गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माणमा यस्ता कार्यक्रमहरू प्रेरणादायी रहेको बताईन । उनले समुदायलाई आत्मनिर्भर बनाउन सामुदायिक वनको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताईन् ।

डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख ईश्वरी प्रसाद पौडेलले सामुदायिक वनको प्रयास सामाजिक रूपान्तरणको उत्कृष्ट नमुना भएको बताए । उनले विपन्न तथा सीमान्तकृत वर्गका लागि वितरण गरिएका सामग्रीहरू दीर्घकालीन रूपमै उपयोगी हुने उल्लेख गरे।

वडा नं. ८ का कार्यवाहक वडा अध्यक्ष विश्वास जिसीले वनले सञ्चालन गरेका सामुदायिक हितका कार्यक्रमहरूलाई प्रभावकारी भन्दै भने, “सामुदायिक वनको सामाजिक सहभागिता, पारदर्शिता र जनउत्तरदायित्वले उदाहरणीय कार्यप्रणाली स्थापित गरेको छ।”

सव डिभिजन वन कार्यालय मोतिपुरका प्रमुख एजाज अन्सारीले विपन्न परिवारका लागि गरिएको यस किसिमको सहयोगले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै सामुदायिक वनको प्रतिबद्धतालाई अन्य वन समूहहरूले पनि अनुकरण गर्नुपर्ने बताए।

कार्यक्रममा सहभागी अन्य अतिथिहरूले पनि सामुदायिक वनको समर्पण र समुदायमैत्री दृष्टिकोणको खुलेर प्रशंसा गरे । स्थानीय समुदायका सदस्यहरूबाट समेत यस्ता कार्यक्रमले साँच्चिकै राहत र सम्मानको अनुभूति गराएको प्रतिक्रिया प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्