
कपिलवस्तु, असार २८ – चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट कार्यान्वयनमा कपिलवस्तु जिल्लाका ६ स्थानीय तहहरूले सन्तोषजनक वित्तीय प्रगति हासिल गरेका छन् । बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, महाराजगंज नगरपालिका, शिवराज नगरपालिका, बिजयनगर गाउँपालिका र शुद्धोधन गाउँपालिकाले वर्षको अन्त्यसम्ममा उल्लेखनीय प्रगति गरेको पाइएको हो ।
बाणगंगा नगरपालिकाले सामाजिक सुरक्षाबाहेक कुल १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो, जसमा १ अर्ब ७ करोड ७८ लाख ३० हजार रुपैयाँ खर्च भई ८२.९१ प्रतिशत खर्च कार्यान्वयनमा आएको छ। पूँजीगततर्फ ७८.८० प्रतिशत र चालु खर्चतर्फ ८७.०२ प्रतिशत खर्च भएको नगर प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
शिवराज नगरपालिकाले कुल १ अर्ब २७ करोड ८९ लाख २८ हजार ५२६ रुपैयाँ बजेटमध्ये १ अर्ब ११ करोड ७७ लाख २९ हजार ३०५ रुपैयाँ खर्च गर्दै ८७.३९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालुतर्फ ८९.३६ प्रतिशत र पूँजीगततर्फ ७२.२१ प्रतिशत खर्च भएको लेखा अधिकृत रामचन्द्र मरासिनीले जानकारी दिनुभयो । सामाजिक सुरक्षा तथा अन्य शीर्षकमा २९ करोड ६९ लाखमध्ये २९ करोड ५४ लाख २१ हजार रुपैयाँ खर्च भई ९९.५० प्रतिशत प्रगति भएको छ।
महाराजगंज नगरपालिकाले कुल बजेटको ८०.८२ प्रतिशत खर्च गरेको छ। पूँजीगततर्फ ७८.५८ प्रतिशत र चालु खर्चतर्फ ८२.८२ प्रतिशत प्रगति हासिल भएको नगर प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले बताउनुभयो ।
बुद्धभूमि नगरपालिकाले ७७.९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। ९६ करोड २३ लाख ४ हजार विनियोजित बजेटमध्ये ७४ करोड ९६ लाख ८३ हजार रुपैयाँ खर्च भएको हो । चालु खर्चतर्फ ८१.७९ प्रतिशत र पूँजीगततर्फ ७०.५८ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले जानकारी दिनुभयो । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा हुने रकम भने उक्त विवरणमा समावेश नगरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले स्पष्ट पार्नुभयो ।
बिजयनगर गाउँपालिकाले वास्तविक आम्दानीको आधारमा ९३.१२ प्रतिशत प्रगति हासिल गरेको छ। ६५ करोड ६८ लाख ८८ हजार विनियोजन बजेटमध्ये ५७ करोड ६६ लाख ५३ हजार ८६४ रुपैयाँ आम्दानी र ५३ करोड ७० लाख २७ हजार ५७८ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो। उनले समयमा योजना सम्पन्न गर्न सहयोग गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गर्नुभएको छ ।
शुद्धोधन गाउँपालिकाले पनि ७८.१२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। कुल ५३ करोड ८६ लाख ८५ हजार २९० रुपैयाँमध्ये ४२ करोड ८ लाख २४ हजार ७३० रुपैयाँ खर्च भएको हो । चालु खर्चतर्फ ८३.०८ प्रतिशत र पूँजीगततर्फ ६८ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले जानकारी दिनुभयो ।
यो समाचार तयार पार्दासम्म कपिलवस्तुका अन्य चार स्थानीय तह – कपिलवस्तु नगरपालिका, कृष्णनगर नगरपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाले आफ्नो वित्तीय प्रगति सार्वजनिक गरेका छैनन् ।