
बाणगंगा, असार २९ । कपिलवस्तुको बाणगंगा नगरपालिका–३, राजापानीमा पहिलो चरणमा २० घर परिवारलाई खानेपानी धारा जडान गरिएको छ । ‘वन उद्यम (सामुदायिक वनमा पर्यटन)’ कार्यक्रम अन्तरगत राजापानी सामुदायिक वन उपभोक्ता समूह तथा बाणगंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सहकार्यमा धारा जडान कार्य भएको हो ।
वन तथा खानेपानी उपभोक्ता समूहको लागत साझेदारीमा सम्पन्न उक्त कार्यक्रम आइतवार एक विशेष समारोहका बीच गरिएको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण कुमार सुनारले धारा जडानजस्तो महत्वपूर्ण कार्यले स्थानीयको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने बताए । उनले वन, जलस्रोत तथा उपभोक्ता समूहबीचको सहकार्यलाई अन्य पालिकाले पनि अनुकरण गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी, सव डिभिजन वन कार्यालय पटनाका प्रमुख सन्दीप वासुकलाले सामुदायिक वन र पानी उपभोक्ता समूहको यस्तो सहकार्यले प्राकृतिक स्रोतको संरक्षणसँगै स्थानीयलाई सेवा पुर्याउने उदाहरणीय काम भएको बताए ।
कार्यक्रमका बारेमा वनका निवर्तमान अध्यक्ष ढाकाराम अधिकारीले राजापानी सामुदायिक वनले पहिल्यैदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पर्यटन, उद्यम र वातावरण संरक्षणमा समेत वनले सक्रियता बढाउने बताए ।
बाणगंगा खानेपानी तिनैयाका अध्यक्ष खिमबहादुर अधिकारीले वनसँग सहकार्य गरेर गरिएको यो पहल प्रेरणादायी भएको उल्लेख गरे । उनले अन्य सामुदायिक वनहरुले पनि यस्ता सामाजिक उत्तरदायित्वका काममा हातेमालो गर्नुपर्ने धारणा राखे ।
राजापानी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष सितादेवी पौडेलले सामुदायिक वनको आम्दानीबाट समाज सेवाका यस्ता कार्यक्रम सञ्चालन गर्न पाउँदा सन्तुष्टि लागेको बताइन् ।
कार्यक्रमको सञ्चालन सचिव दिनानाथ पाण्डेले गरेका थिए । धारा जडानपछि शुद्ध खानेपानीको अभाव झेल्दै आएका विपन्न परिवारहरू खुसी देखिएका थिए ।