
सिद्धिपुर, असार ३१।
श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११औं स्थापना दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी वाणगंगा उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३० पोइन्ट रगत संकलन गरिएको हो ।
सिद्धिपुरस्थित नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा विहान ७ बजेदेखि सञ्चालन भएको रक्तदान कार्यक्रममा सहकारीका सञ्चालक, कर्मचारी, स्थानीय समाजसेवी, युवा तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले सहकारीले सुरुदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताउँदै, “सहकारी केवल वित्तीय कारोबारमा सीमित नरही समाजसेवा, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा पनि सशक्त रूपमा अगाडि बढ्दै आएको छ,” भने। उनले रक्तदानजस्तो जीवनदायिनी अभियानमा सहभागिता जनाउनु सबैका लागि गर्वको विषय भएको बताए ।
त्यस्तै, संस्थाका प्रवन्ध निर्देशक सन्तोष गैरेले रक्तदानजस्तो मानव सेवा मूलक कार्यले सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वप्रति सबैलाई जागरुक बनाउने धारणा राखे। उनले आगामी वर्षहरूमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रम सफल बनाउनमा नेपाल रेडक्रस सोसाइटी वाणगंगा उपशाखाका स्वयंसेवकहरूको सक्रिय भूमिका रहेको थियो। सहकारी संस्थाले स्थापना दिवसको अवसरमा समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेको हो ।