ईलाका प्रशासन कार्यालयको सेवा गजेहडाबाट सुरु


पालिका पत्र

२ श्रावण २०८२, बिहीबार २०:५२ मा प्रकाशित

बाणगंगा, साउन १ ।
ईलाका प्रशासन कार्यालय बाणगंगाले आज (बुधबार) गजेहडाबाट सेवा प्रवाह सुरु गरेको छ । अबदेखि बाणगंगा नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालय भवनको दोस्रो तल्लाबाट प्रशासनिक सेवा प्रदान गरिनेछ । एक समारोहबीच कार्यालय स्थानान्तरणपश्चात सेवा सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले गजेहडा क्षेत्र भौगोलिक हिसाबले सिङ्गो नगरवासीका लागि सहज स्थान भएको बताए । उनले विगतमा कार्यालय भाडामा सञ्चालन हुँदा राज्यको आर्थिक बोझ थपिएको स्मरण गराउँदै अब सेवा सस्तो, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कार्यालय स्थानान्तरणको मूल उद्देश्य जनतालाई सजिलो, छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउनु भएको स्पष्ट पारे । कार्यालय दोस्रो तल्लामा रहेको हुँदा जेष्ठ नागरिक तथा अपांगमैत्री पहुँच सुनिश्चित गर्नुपर्ने भन्दै कार्यालय प्रमुख र कर्मचारीहरूलाई आवश्यक संरचनात्मक सुधार गर्न निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष छवि रेश्मी मगरले वडाबासीहरू सिफारिस मात्र होइन, नागरिकता, नवीकरण, सट्टा, राष्ट्रिय परिचयपत्र लगायतका सेवा पनि अब आफ्नै वडाबाट लिन सक्ने बताए। यसले सेवाग्राहीको समय, खर्च र श्रमको उल्लेखनीय बचत हुने उनले प्रष्ट पारे ।

सो अवसरमा दुई जना सेवाग्राहीलाई नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै औपचारिक रूपमा नयाँ स्थानबाट सेवाको सुरुवात गरिएको थियो । गजेहडाबाट सेवा लिने पहिलो व्यक्ति राजेन्द्र थारु बनेका छन् ।
कार्यक्रममा स्थानीय प्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय तथा नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीयले अब प्रशासनिक सेवा सहज रुपमा वडामै पाउँदा ठूलो राहत महसुस भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्